चिनी मिल सञ्चालकले अझै दिएनन् उखु किसानकाे रकम

 माघ ४, २०७६ शनिबार ९:४७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिवद्धता अनुसारको समय सकिन तीन दिन मात्र बाँकी भए पनि चिनी मिल सञ्चालकले तिर्नुपर्नेमध्ये आधा रकम मात्रै तिरेको उखु किसानले बताएका छन् ।

चिनी मिल सञ्चालकले माघ ७ गतेभित्र किसानलाई दिन बाँकी सबै रकम तिर्ने सहमति जनाएकोमा अझै २२ करोड रुपैयाँ तिर्न बाँकी रहेको किसानले बताएका छन् ।

जसमध्ये वागमती चिनी मिलले ९ करोड, इन्दिरा चिनी मिलले ९ करोड र लुम्बिनी चिनी मिलले ४ करोड रुपैयाँ किसानलाई दिन बाँकी छ । बक्यौता उठाइदिन आग्रह गर्दै उखु किसानले काठमाण्डौमा २ हप्ता प्रदर्शन गरेपछि सरकारले चिनी मिल सञ्चालकलाई १५ दिनमा सबै रकम भुक्तानी दिने प्रतिबद्धतासहित किसानसँग ५ बुँदे सहमति गरेको थियो ।

अबको तीन दिनमा बाँकी पैसा नपाए फेरि काठमाण्डौ गएर आन्दोलन गर्ने तयारी गरिएको सर्लाहीका उखु किसान राजेश यादवले बताउनुभयो ।

सहमतिअनुसार आउँदो मंगलबारसम्म उद्योगीले बाँकी सबै रकम किसानलाई नदिए कारबाही प्रक्रिया अघि बढाउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले जानकारी दिनुभयो ।

सरकारले दिने अनुदान बापतको ९६ करोड रुपैयाँ बराबर भने दिइरहेको र तोकिएको समयभित्रै दिनेमा आफूहरु आशावादी रहेको पनि यादवले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया