अन्नपूर्ण पदमार्गमा हराइरहेकाकाे खाेजीमा हेलिकप्टर परिचालन

 माघ ४, २०७६ शनिबार १२:५०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की - अन्नपूर्ण आधारशिविर (एबीसी) को पदमार्गमा आएकाे हिमपहिरोमा परेर सम्पर्कविहीन भएकाहरुको खोजीको लागि हेलिकप्टर परिचालन गरिएकाे छ ।  

शुक्रबार अन्नपूर्ण आधारशिविर अन्तर्गतको देउराली र हिङ कु केभको बीचमा हिमपहिरो झरेपछि केही नेपाली गाइडसहित विदेशी पर्यटक सम्पर्कविहीन भएका थिए । केही पर्यटको स्थानीय पर्यटन व्यवसायीले उद्धार गरेका थिए ।

ट्रेकिङ एजेन्सिज् एसाेशियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष हरि भुजेलका अनुसार सम्पर्क विहीनमध्ये पथ प्रर्दशक जगदिश खत्री र एक जना चिनियाँ नागरिक सम्पर्कमा आएका छन् । 

अझै ४ जना कोरियन पर्यटक र एक जना नेपाली पथ प्रदर्शक सरोज परियार सम्पर्कविहीन भएको भुजेलले जानकारी दिनुभयो । ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराबाट छ जना अनुभवी गाइडहरु पनि खोजीको लागि पठाएको उहाँले बताउनुभयो ।

नियमित सञ्चारसम्पर्क हुन नसक्दा हराउने संख्या पनि यकिन हुन नसकेकाे भुजेलले बताउनुभयाे ।  

लगातारकाे हिमपातका कारण सञ्चारसम्पर्क नभएकोले पर्यटकको अवस्था जानकारी पाउन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार केसीले बताउनुभयो ।

उहाँले प्रहरी टोली छुम्रुङबाट माथि लागिसकेको पनि जानकारी दिनुभयो । एक्यापले पहिरो गएपछि देउरालीभन्दा अघि नबढ्न पर्यटकलाई अनुरोध गरेको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया