सरकारले लुम्बिनी बृहत्तर विकासकाे थालनी गर्छ : पर्यटनमन्त्री योगेश भट्टराई

 माघ ५, २०७६ आइतबार १९:३२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनीको बृहत्तर विकासका लागि सरकारले कामको थालनी गर्ने बताउनुभएको छ ।बृहत्तर लुम्बिनी क्षेत्रको गुरुयोजना तथा लुम्बिनी विश्व शान्तिनगरको कार्यान्वयसम्बन्धी छलफलमा मन्त्री भट्टराईले यस्तो बताउनुभएको हो ।

 लुम्बिनीको बृहत्तर विकासका लागि सरकारले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । 

‘हामीले अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई प्राथमिकतामा राख्यौँ । जसलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा सरकारले राख्यो । निर्माणको अन्तिम चरणमा पुगिसकेका छौँ । एयरपोर्ट पछि हट्दैन । त्यो अगाडि बढिसक्यो । त्यसको सञ्चालन छिट्टै गर्दैछौँ’, भट्टराईले भन्नुभयो ।

मन्त्री भट्टराईले मायादेवी क्षेत्रको विकासले मात्रै लुम्बिनीको बृहत्तर विकास हुननसक्ने बताउँदै विमानस्थलसँगै मायादेवी मन्दिर, देवदह, सैनामैना, तिलौराकोट लगायतका क्षेत्रहरुलाई एक अर्कासँग जोड्नुपर्ने बताउनुभयो ।

लुम्बिनी क्षेत्रमा रहेका सबै ठाउँहरुकाे आ-आफ्नो महत्व रहेको बताउँदै उहाँले घुम्न आउने विदेशी पर्यटक वा अध्ययनका लागि जाने विद्यार्थीहरुलाई ८, १० दिन त्यहाँ बिताउन सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । 

लुुम्बिनीको बृहत्तर विकाससँगै प्राकृतिक, सांस्कृतिक कुराहरु पनि जोड्नुपर्ने भट्टराईको भनाइ छ । कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मेत्तेयय) ले बृहत्तर लुम्बिनीको लगभग ८० प्रतिशत काम सम्पन्न भइसकेको बताउनुभएको छ । 

बाँकी २० प्रतिशत कामका लागि अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्त भइसकेको र २ महिना भित्रमा ग्लोबल टेण्डर आह्वान गरिने पनि उहाँले जानकारी दिनुभयो । बाँकी काम सम्पन्न गर्नका लागि ६ अर्ब बराबरको बजेट आवश्यक पर्ने बताउँदै उहाँले बजेट अभाव नभए चाँडै नै काम सम्पन्न हुने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा इन्जिनियरिङ्ग संस्थान पुल्चोकका सह प्राध्यापक डा. सञ्जय उप्रेतीले लुम्बिनीको बृहत्तर विकासबाट सभ्य, सुसंस्कृत र अनुशासित नागरिक निर्माणमा सहयोग पुग्ने बताउनुभयो ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया