दोस्रो पटक पनि असफल हुँदै बिदा भए मदन खरेल, वायुसेवा निगमको ‘ओरालो’ यात्रा कहिलेसम्म  ?

 माघ ५, २०७६ आइतबार २०:११:४ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै - नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिनुभएको छ । खरेलले आइबार बिहान संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा दिनुभएको हो ।

काम गर्न नसकेको चौतर्फी आरोप खेपेका कार्यकारी अध्यक्ष खरेलले १४ महिनासम्म पदमा पनि देखिनेगरी निगममा सुधार ल्याउन नसकेपछि अन्तत: राजीनामा दिनुभएको हो ।  

खरेललाई २०७५ सालको भदौमा सरकारले कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो । निगमका तत्कालीन महाप्रवन्धक सुगतरत्न कंसाकार हुँदाहुँदै उहाँभन्दा माथिल्लो पद खडा गरेर खरेललाई ल्याइएको थियो । एक पटक काम गर्न नसकेर राजीनामा दिएका खरेललाई फेरि किन ल्याइयो भनेर त्यतिखेर नै प्रश्न उठेका थिए ।

तर सरकारले भने वाइडबडी विमान खरिद प्रकरणमा जोडिएर विवादित बनेपछि तत्कालिन महाप्रवन्धन सुगतरत्न कंसाकारलाई काम गर्न गाह्रो भएकाले उहाँ भन्दा माथिल्लो पदमा कार्यकारी अध्यक्षमा खरेललाई नियुक्त गरेको भन्दै आएको थियो । 

निगममा कार्यकारी भएर आएपछि खरेलले निगमलाई सुधार्नेगरी काम गर्न सक्नुभएन । कार्यकारी अध्यक्ष मदन खरेललाई नेपाल वायुसेवा निगमको उडान गन्तव्य विस्तार नगरेको, जापानको नारितामा उडान गर्नुपर्नेमा यात्रुको चाप कम हुने ओसाकामा उडान गरेको, स्वार्थमा लागेर चीनको संघाइ र बेइजिङ उडान गर्न चासो नदिएको, आन्तरिक बजार हिस्सा बढाउन असफल भएकोलगायतका आरोप लागेका थिए ।

खरेललाई संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले पटक पटक स्पष्टीकरण पनि सोधेको थियो । पछिल्लो पटक संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वायुसेवा निगम सुधारको लागि भन्दै साउनको २२ गते पूर्व सचिव सुशील घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलले असोज १ गते मन्त्री योगेश भट्टराईलाई दिएको सुझावसहितको प्रतिवेदनमा निगमले भएका जहाजबाट पर्याप्त गन्तव्यमा उडान नगरेको र नयाँ जहाज ल्याएर निगमको व्यापार बढाउन नसकेको बताएको थियो ।

निगमलाई आम्दानीको पर्याप्त अवसर हुँदाहुँदै पनि नेतृत्वको असक्षमताका कारण घाटा भैरहेको कार्यदलको प्रतिवेदनले औँल्याएको थियो । तर कार्यकारी अध्यक्ष खरेलले कार्यदलको सुझाव अनुसार काम गर्नुभएको थिएन ।

बरु बेला बेलामा पत्रकार सम्मेलन गरेर निगमको अनावश्यक खर्च कटौती गरेको, निगमलाई स्मार्ट बनाउँदै लगेको र सुधारको बाटोमा गैरहेको दावी गर्नुभएको थियो ।

खरेलको दावी विपरीत निगमको ऋण ४० अर्ब रुपैयाँभन्दा धेरै पुगेको छ भने वाइडबडी जहाज किन्न सञ्चयकोष र नागरिक लगानीकोषबाट लिएको २४ अर्ब रुपैयाँको ब्याज तिर्न निगम असफल छ ।

पर्यटनमन्त्री योगेश भट्टराईले पनि कार्यकारी अध्यक्ष खरेललाई निगमको छवि सुधार्न र राम्रो प्रतिफल दिनेगरी योजना बनाएर काम गर्न निर्देशन दिनुभएको थियो । उहाँले विभिन्न सञ्चारमाध्यममार्फत काम गर्न नसक्ने भए बाटो खाली गर्नुपर्ने बताउँदै आउनुभएको थियो । 

तत्कालिन महाप्रवन्ध कंसाकारकै शब्दमा ‘जोखिम’ मोलेर झण्डै २४ अर्ब रुपैयाँ खर्चिएका वाइडबडीलाई लामो र राम्रो आम्दानी हुने गन्तब्यमा उडाउन धेरै मेहेनत चाहिन्थ्यो, तर खरेलले त्यो गर्न सक्नुभएन । 

उज्यालो अनलाइनसँगको कुराकानीमा तत्कालिन महाप्रबन्धक कंसाकारले भन्नुभएको थियो, ‘मैले जोखिम मोलेर किनेका जहाज उडाउने बेलामा म भन्दामाथि रहने गरी कार्यकारी अध्यक्ष खरेललाई ल्याइएको छ, अब उहाँले नै उडाउनुहुन्छ, म कार्यकारी भूमिकामा नभएकाले मेरो दायीत्व कम मात्रै हुन्छ ।’

निगमसँग अहिले  अन्तर्राष्ट्रिय उडान गर्ने २ थान वाइडबडी जहाज, २ थान न्यारोबडी जहाज गरी ४ थान जहाज छन् । 

यस्तै आन्तरिक तर्फ २ थान एमए ६०, चार थान वाइ १२ र ३ थान डिएचसी ६ मोडलका जहाज रहेका छन् । निगमसँग सबै गरेर १३ थान जहाज भए पनि जम्मा ७ वटा जहाजले मात्रै नियमित उडान गर्दै आइरहेका छन् ।

चीन सरकारले उपलब्ध गराएका वाइ १२ र एमए ६० जहाजलाई उडाउन निगम असफल भएको छ । यसमा पटक पटक प्रयास गर्दै आए पनि जहाजको क्षमता, पाइलटको अभाव र पाटपुर्जाको अभावका कारण चिनियाँ जहाज उडाउन नसकिएको कार्यकारी अध्यक्ष खरेलको भनाई थियो । 

२०७० सालमा पनि निगमको महाप्रबन्धक भएका खरेलले एक वर्ष नपुग्दै राजीनामा दिनुभएको थियो । त्यतिबेला सरकारले उहाँलाई काम गर्न नसकेको आरोप लगाएको थियो ।

तर खरेलले भने ट्रेड युनियनको दबाबका कारण राजीनामा दिएको बताउँदै आउनुभएको थियो । पहिले ट्रेड युनियनको दबाबका कारण राजीनामा दिएका खरेलले यसपटक भने कामै गर्न नसकेको स्विकार गर्दै १६ महिनामै राजीनामा दिनुभएको छ । अब नयाँ कार्यकारी अध्यक्ष या महाप्रवन्धक नियुक्तीमै केही समय लाग्नेछ  ।

व्यवस्थापकीय र आर्थिक हिसावले ‘कोमा’मा पुगेको वायुसेवा निगमको अवस्था तत्कालै सुध्रने अवस्था नरहेको संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका उच्च अधिकारीको भनाई छ ।

उनले उज्यालो अनलाइनसँग भने, ‘खरेललाई किन ल्याइयो र अहिले किन राजीनामा दिन दबाब दिइयो कसैले बुझ्न सकेका छैनन, निगममा सरकार खेल्दा अवस्था चौपट भैसक्यो ।’

अन्तिम अपडेट: बैशाख ६, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया