‘मेरो धारणाहरु कुनै अस्वाभाविक महत्वाकांक्षा या अनुचित आग्रहबाट प्रेरित थिएनन्’

 माघ ६, २०७६ सोमबार १४:३५:५२ | डा. शिवमाया तुम्बाहाङ्फे
unn.prixa.net

एउटा अप्रत्याशीत र अस्वभाविक परिस्थितिका कारण केही समयदेखि सभामुख पद रिक्त रहँदै आएकाे कुरा यहाँहरुलाई जानकारी नै छ । सार्वभाैम संसदकाे महत्वपूर्ण अंग प्रतिनिधिसभा लामाे समयसम्म सभामुख विहीन हुँदा उत्पन्न भएकाे जटिलता र यसले सृजना गरेका समस्याका बारेमा हामी सबै जानकार नै छाैँ । यस्ताे स्थिति अब कायम रहनु हुँदैन ।

यसले छिटाे निकास पाउनु पर्छ भन्ने माननीय सदस्यहरुकाे भावनालाई मध्यनजर गर्दै पटक पटक सम्बन्धित निकायलाई जानकारी गराएकाे यहाँहरुलाई जानकारी नै छ । अन्याैल पूर्ण अवस्थामा उपसभामुख पद रिक्त गरेर यस गरिमामय सदनलाई नेतृत्व विहीन राख्नु उचित नहुने मान्यताकाे आधारमा सभामुख चयनको ठोस आधार सृजना भएपछि आफूले मार्ग प्रसस्त गर्ने भनेर मैले सार्वजनिक रुपमा राखेको मान्यता सम्मानित सदन समक्ष अभिलेखित गराउन चाहन्छु ।

समावेशी लोकतन्त्र हाम्रो संवैधानिक व्यवस्थाको विशेषताको रुपमा रहेको छ । संविधानको यो मर्म अक्षर या वचन बाट होइन । हाम्रा अभ्यास र आचरणबाट मात्रै कार्यान्वयन हुन सक्छ भन्ने मलाई लाग्छ । राज्यको उच्च ओहदाहरुमा समाजका सबै अंगहरुको प्रतिबिम्ब झल्किन सके मात्रै वास्तविक अर्थमा लोकतन्त्र सुदृढ हुन सक्छ भन्ने यथार्थ रुपमा संविधान निर्माणमा अगुवाई गर्नु हुने राजनीतिक दल र नेतृत्व वर्ग सहमत हुनुहुन्छ भन्ने मैले आशा लिएको छु ।

यसै विषयमा आधारित रहेर मैले आफ्नो धारणाहरु सम्बन्धित निकायहरुमा प्रस्तुत गरेकी हुँ । मेरा यी धारणाहरु कुनै अस्वभाविक महत्वकांक्षा या अनुचित आग्रहबाट प्रेरित थिएनन् भन्ने कुरा म दृढ छु । यस सम्बन्धि विभिन्न प्रतिकृयाहरु मैले नजिकबाट नियाँलेको छु । समयले यसबारेमा वस्तुनिष्ट मुल्यांक गर्ने नै छ भन्ने मेरो विश्वास छ ।

लोकतन्त्र र खुला समाजमा हामीले गर्ने हरेक निर्णयहरु जनताको सुक्ष्म निगरानीमा रहेका हुन्छन् । तीनको औचित्य परीक्षा समयको कसीसँगै घोटिएर भएझै हुन्छ । निर्णय र सार्वजनिक जवाफदेहिताको विचमा उचित सामन्जस्यता हुनु पर्ने कुरा सबै सम्बन्धित पक्षले ध्यान पुर्‍याउनु पर्छ भन्ने मलाई लाग्छ । दलबाट सिफारिस या निर्वाचित भएर प्राप्त हुने जिम्मेवारी भएता पनि संवैधानिक ओहोदामा बसुन्जेल सम्बन्धित व्यक्ति दलको सम्बन्धबाट अलग रहेको हुन्छ । उक्त ओहोदामा रहँदा उ दलको निर्देशनमा होइन ।

संविधान र कानुनको प्रवन्ध अनुसार निर्देशित भएर कृयाशिल हुन्छ । मैले पनि यसै अनुसार नै इमान्दारिताका साथ कर्तव्य पूरा गर्ने प्रयास गरेको छु । तर कसैले पनि आफ्ना जराहरु विर्सनु हुन्न । धरातल भुल्न हुन्न । र स्वतन्त्रतालाई निरपेक्ष रुपमा बुझ्नु हुँदैन भन्ने कुरामा पनि म सचेत छु । विभिन्न पक्षहरुका बीचमा यस अन्योललाई निकास दिन चलिरहेको छलफललाई मैले सुक्ष्म अध्ययन गरिरहेको छु ।

प्रतिनिधिसमा बहुदल प्राप्त दलले आफ्नो तर्फबाट नेतृत्वको दावा गरेको अवस्था हाम्रा प्रचलित संवैधानिक र कानुनी अवस्थाका आधारमा त्यसलाई कार्यान्वयनका लागि मैले सहजीकरण गर्नु आवश्यक भएको छ । यसै अनुसार मैले मार्ग प्रसस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदन समक्ष निवेदन गर्न चाहन्छु ।

उपसभामुखको रुपमा विगत झण्डै २ वर्षसम्म माननीय सदस्यहरुसँग विताउन पाएको अवधी मेरो जीवनमा अविश्मरणीय र सुखद अवधीको रुपमा स्मृतिमा रहने छ । एउटा महिला त्यसमाथिमा पनि एकल अवस्थामा रहेको र जनजाती पृष्ठभूमीबाट आएको म जस्तो व्यक्तिले जनताको सार्वभौम अधिकार अभ्यास गर्ने यस सर्वोच्च र गरिमामय अंगको नेतृत्व गर्न पाएको अवसरालाई अत्यन्त महत्वपूर्ण अवसर ठानेकी छु ।

यसको श्रेय  हाम्रो लोकतान्त्रि प्रणाली र राजनीतिक दलहरुलाई जान्छ । समावेशी लोकतन्त्रका माध्त्तयमबाट न्यायपूर्ण र समृद्ध समाज निर्माण गर्ने अभियानमा म भिन्न रुपमा अविचलित र विश्रान्त रुपमा कृयासील भइरहने छु ।

मलाई कर्तव्य निर्वाहको शीलशीलामा प्राप्त सहयोगका लागि माननीय सदस्यहरु र संसद सचिवालयका कर्मचारीहरुलाई धन्यवाद दिन चाहन्छु । धन्यवाद ।

अन्तिम अपडेट: चैत १, २०८०

डा. शिवमाया तुम्बाहाङ्फे

शिवमाया तुम्बाहाङ्फे प्रतिनिधि सभाकाे निवर्तमान उपसभामुख हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया