ए डिभिजन लिग : आर्मीसँग च्यासल ३-० ले पराजित

 माघ ६, २०७६ सोमबार १७:५७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मीले च्यासल युथ क्लबलाई तीन शुन्यले हराउँदै शीर्ष स्थानको यात्रा लम्ब्याएको छ । दशरथ रंगशालामा भएको खेलमा आर्मीले च्यासलमाथि दोस्रो हाफमा पूर्ण दबाब दिँदै तीन अंक बटुल्यो ।

पहिलो हाफमा खासै राम्रो प्रदर्शन देखाउन नसक्दा गोलरहित बराबरी भएको थियो । ३९ औं मिनेटमा सन्तोष साउखललाई फल गरेर पाएको फ्रिकिकमा हेमन्त थापामगर गोल गर्नबाट चुके ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५८ औं मिनेटमा आर्मीले अग्रता बनायो । उसका लागि भरत खवासले गोल गरे । त्यसपछि ६७ औं मिनेटमा च्यासलका सन्तोष साउखलको प्रहार पोष्ट नजिकैबाट बाहिरीयो ।

त्यसको केहिछिनमा आर्मीका नवयुग श्रेष्ठ वन भर्सेस वनमा गोल गर्नबाट चुके । उनले डिवक्स भित्रबाट गरेको प्रहार च्यासलका गोलकिपर एलन न्यौपानेले बचाए ।

७३ औं मिनेटमा आर्मीले अन्तर दुई शुन्यमा पुर्‍यायाे । सेसेहाङ आङदेम्बेको प्रहार एलेनले बचाए पनि रिबाउण्डमा नवयुग श्रेष्ठले गोल गर्न सफल भए । ८४ औं मिनेटमा आर्मीले तेस्रो गोल गर्‍याे । उसका लागि सन्तोष तामाङले पेनाल्टीमा गोल गरे ।

च्यासलको छिरीङ गुरुङले नवयुगलाई डिबक्समा लडाएपछि आर्मीले पेनाल्टी पाएको थियो । जसलाई सन्तोषले गोलमा परिणत गरे ।

खेलको इन्जुरी समयमा आर्मीले अर्को पेनाल्टीको अवसर पाएको थियो । तर यसपटक आर्मीका नगयुग श्रेष्ठको प्रहार पोलमा लागेर फर्कियो । त्यसपछि च्यासल खेलमा फर्कन सकेन र जारी लिगमा तेस्रो हार ब्यहोर्‍याे ।

यो जितपछि आर्मीले दोस्रो स्थानमा रहेको मच्छिन्द्रसँगको दुरी तीन अंकमा पुर्‍याएकाे छ । उसको सात खेलमा १६ अंक भएको छ भने मच्छिन्द्रको १३ अंक छ । तेस्रो स्थानको मनाङको पनि १३ अंक नै छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया