प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री माेदीले एकीकृत चेक पाेस्टकाे उद्घाटन गर्दै

 माघ ७, २०७६ मंगलबार ९:३२:४२ | सुमन तिमल्सिना
unn.prixa.net

प्रतिकात्मक तस्बिर

माेरङ – प्रदेश १ मा विराटनगर महानगरपालिकाको भेडियारीमा निर्माण भएको एकीकृत चेक पाेस्ट (आईसीपी) काे आज उद्घाटन हुँदैछ ।

नेपाल–भारतको संयुक्त लगानीमा विराटनगरमा निर्मित आईसीपीको प्रधानमन्त्री केपी ओली र भारतीय प्रभानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गर्ने तयारी छ । आज बिहान १० बजे भिडियाे कन्फ्रेन्समार्फत दुवै प्रधानमन्त्रीले 'स्वीच अन' गरेर उद्घाटन गर्दै हुनुहुन्छ । 

प्रधानमन्त्री ओलीले काठमाण्डाै र नरेन्द्र मोदीले दिल्लीबाट भिडियोमार्फत् आईसीपीकाे उद्घाटन गर्नु हुनेछ । आयात तथा निर्यात पारवहन सहज बनाउन विराटनगर महानगरपालिका १८ मा निर्मित आईसीपी सञ्चालनका लागि तयार भइसकेकाे छ । 

सन् २०१७ मा भारतको गुजरात राज्यकाे दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकन प्रालीले आईसीपीको निर्माणको ठेक्का पाएसँगै काम सुरु भएकाे थियो । एक अर्ब १४ करोड भारतीय रुपैयाँको लागतमा इन्फ्राकनले आईसीपी निर्माण सम्पन्न गरेको जनाएको छ । सन् २०१८ भित्रै निर्माण सक्नुपर्ने सम्झौता भए पनि सम्झौता अनुसार काम भने भएन ।     

आईसीपी एक सय २९ बिघा क्षेत्रफलमा फैलिएको छ । आईसीपी परिसरबाहिर ४० बिघा जमिन छ । त्यसबाट दुई लेनको सडक र पछि आवश्यकताअनुसार ६ लेनसम्मको बनाइनेछ । सीमाको दसगजालाई आधार बनाएर आईसीपी निर्माण गरिएको हो ।

नेपाल भित्रने पयर्टकीय सवारी, मालवाहक सवारी भारतीय जाँच केन्द्र हुँदै नेपाली जाँच केन्द्रमा प्रवेश गर्नेछ । यी सवारीलाई धर्मकाँटामा राखेर नापतौल गरिन्छ र पार्किङ प्लटमा सवारी व्यवस्थापन गरिन्छ । त्यही क्षेत्रमा भन्सार राखिने भएकाले त्यहीँबाट उद्योगीले सवारीसाधन आफू अनुकूल बाहिर निकाल्न सक्ने छन् । 

अन्तिम अपडेट: चैत २९, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया