गाउँपालिका कार्यालयमा आगजनी, नेकपा अध्यक्षकाे घरमा बम

 माघ ८, २०७६ बुधबार ११:५२:१९ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

बैतडी – डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा नचिनेकाे मानिसकाे समूहले आगजनी गरेको छ । बुधबार बिहान ३ बजे गाउँपालिका ३ काे पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो । 

यस्तै गाउँपालिकाको म१च ४८८ नम्बरको स्करपियोमा पनि आगजनी गरिएको छ । नेकपाका अध्यक्ष सुरेन्द्र पालको स्करपियो गाउँपालिकाले भाडामा लिएको थियो । यसका साथै गाउँपालिका ३ काे पसेरामा रहेको नेकपा अध्यक्ष पालको घरको मुख्य गेटमा प्रेसरकुकर बम पनि फेला परेको छ । पालकै से१च ४५९ नम्बरको जेसीबीमा पनि आगजनी गरिएको छ ।  

आगजनी र बम कसले र किन राखिएको भन्ने बारे केही खुल्न नसकेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । बम निष्क्रिय पार्न हनुमानध्वज गुल्म बैतडीको नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको छ । घटनाबारे बुझ्न प्रहरी टोली पनि घटनास्थलर्फ गएको छ । 

डिलाशैनी गाउँपालिका केन्द्रको विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो । राज्य पुनर्स्थापना हुँदा गाउँपालिका ७ मा केन्द्र तोकिएको भए पनि अहिले सम्पूर्ण कामकाज वडा नम्बर ३ बाट हुँदै आएको छ ।

नेकपा अध्यक्ष पालकै घर रहेको पंसेरामा केन्द्र सार्ने चलखेल भएको स्थानीयवासीको आरोप रहेको छ । डिलाशैनीमा नेकपाकै अध्यक्षका साथै गाउँकार्यपालिकामा पनि नेकपाकै बहुमत छ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया