ऊर्जा क्षेत्र समृद्धिकाे आधार भएकाले ठूला विद्युत आयोजनामा सरकारकाे ध्यान केन्द्रित छ : उर्जामन्त्री पुन

 माघ ८, २०७६ बुधबार १४:४७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काभ्रे - ऊर्जा मन्त्री वर्षमान पुन अनन्तले उर्जा क्षेत्रलाई सरकारले समृद्धिको महत्वपूर्ण आधार मानेकाले त्यसैअनुसार ठूला जलिद्युत आयाेजनामा लगानी गरिने स्पष्ट पार्नुभएकाे छ । 

ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले अनन्तले मुलुकको औद्योगीकरण र व्यवसायीकरणका लागि आवश्यक विद्यु्त देशभित्रै उत्पादन गर्ने र बढी भएको छिमेकी मुलुकमा बिक्री गर्ने लक्ष्यसहित ठूला आयोजनामा ध्यान केन्द्रित गरेको बताउनुभयो ।

मन्त्री पुनले रामेछाप र काभ्रेको सिमानामा पर्ने जलाशययुक्त सुनकोसी–२ र सुनकोसी–३ आयोजनास्थल भ्रमण गर्दै १० वर्षमा १५ हजार विद्युत उत्पादन गर्ने लक्ष्य पूरा गर्न ठूला आयोजनालाई जोड दिइएको जानकारी दिनुभयाे ।

अपर तामाकोसीदेखि सुनकोसी–१, सुनकोसी–२, सुनकोसी–३ र कोशी उच्चबाँधमा निर्माण हुने विशाल ड्याम भारतको कलकात्तासँग जोडेर पानीजहाज समेत चलाउन सकिने स्पष्ट गर्नुभयो । 

सुनकोसी–२ र ३ को बहुआयामिक महत्व रहेको र ती आयोजना निर्माण हुँदा मुलुकलाई मात्र फाइदा पुग्ने नभइ स्थानीयको जीवनस्तर माथि उठ्ने भएकाले सहयोग गर्न आग्रह गर्नुभयो । आयोजना निर्माण गर्दा सरकारले घर तथा खेतीयोग्य जमिन गुमाउने परिवारलाई उचित मुआब्जा दिने, रोजगारीमा स्थानीयलाई प्राथमिकता दिइने तथा उचित पुनर्बास गराइने प्रतिबद्धता पनि मन्त्री पुनले जनाउनुभयो ।

सुनकोसी–३ को सम्भाव्यता अध्ययन आउँदाे मंसिरसम्म सकिने र आयोजना बन्ने निश्चित भइसकेको जानकारी उहाँले दिनुभयो । सुनकोसी–२ मा घनाबस्ती पर्ने र क्षति धेरै हुने भएकाले आयोजना तुलनात्मक रुपले केही महंगो पर्नसक्ने र समय पनि लाग्ने मन्त्री पुनले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य गणेश पहाडी र पूर्वउर्जाराज्यमन्त्री एवं नेकपा नेता सूर्यमान दोङले स्थानीयका तर्फबाट आयोजना निर्माणमा अवरोध नभइ सहयोग हुने प्रतिबद्धता जनाउनुभयो । विद्युत विकास विभागका महानिर्देशक नवीन सिंहले बंगलादेशले सुनकोसी–३ मा लगानीका लागि इच्छा देखाएको जानकारी दिनुभयो । 

सुनकोसी–३ आयोजना 

सुनकोसी– ३ को पहिचान तथा प्रारम्भिक अध्ययन जापानी सहयोग नियोग ( जाइका) सन् १९८५ मै गरेको थियो । अध्ययनले सुनकोसी–३ का लागि साविकको मदनकुडारी गाविसको पार्सेल नजिकैबाट १ सय ४० मिटरको बाँध बनाएर ५३६ मेगावाट विद्युत उत्पादन गर्न सकिने औँल्याएको थियो । तर, विद्युत विकास विभागले गरिरहेको पछिल्लो अध्ययनले सुनकोसी–३ बाट ६४० मेगावाट विद्युत उत्पादन हुन सक्ने देखिएको छ ।

परामर्श दाता कम्पनी चीनको जेभी अफ सांघाई इन्भेष्टिगेशन, डिजाइन एण्ड सिसर्च इन्ष्टिच्युट (सीआइडीआरआई) र नेपालको इन्भाइरोमेन्ट एण्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्ट्यान्ट प्रा.लि. मार्फत २०७४ वैशाखदेखि अध्ययन भइरहेको छ । विद्युत विकास विभागका महानिर्देशक नवीन सिंहले आगामी मंसिरसम्ममा अध्ययन सकिने जानकारी दिनुभयो ।

अध्ययनले बाँधस्थल लुभुघाटमा सार्दा आयोजना सस्तोमा बन्ने तथा बढी विद्युत उत्पादन हुन सक्ने देखाएको छ । त्यसबाट वार्षिक विद्युत उत्पादन वार्षिक २.४ अर्ब युनिट हुने सिंहले बताउनुभयो । आयोजनाको वातावरणीय प्रभाव अध्ययन मूल्याङ्कन (इआइए) समेत सुरु भइसकेको छ । 

सुनकोसी–३ को बाँधस्थल काभ्रेको तिमाल गाउँपालिका लुभुघाट र रामेछापको सोनापाती गाउँपालिकाको सीमामा निर्माण हुन्छ । १ सय ६६ सय मिटर उचाई र ६ सय ५० मिटर लम्बाइको ड्याम निर्माण हुने आयोजनाले जनाएको छ । जलासय करिब ३० किलोमिटर लामो निर्माण हुन्छ । 

आयोजनको विद्युत गृह काभ्रेको तिमाल गाउँपालिका–९ तित्रेटारमा बन्नेछ ।  आयोजनाबाट करिब १ हजार जनसंख्या पूर्णरुपमा विस्थापित हुनेछन् । आयोजनाका लागि ४ हजार २ सय हेक्टर जमिन प्रयोग हुन्छ । आयोजनाले काभ्रेको दोलालघाट बजार पुरै डुबानमा पर्छ । 

सुनकोसी–२ आयोजना 

सुनकोसी–२ को जडित क्षमता ९५० मेगावाट हो । उक्त आयोजानबाट  सन्धुलीको खुर्कोट र रामेछाप सदरमुकाम मन्थली पूर्णरुपमा डुबानमा पर्छ ।  बाँधस्थल सिन्धुली र रामेछापको सीमानामा पर्ने पुडुलेमा रहनेछ । जगबाट करिब १ सय ६० मिटर उचाइ र ४ सय ५० मिटर लम्बाइको ड्याम निर्माण हुने आयोजनाले जनाएको छ ।

जलाशयको लम्बाइ ५३ किलोमिटर लामो । यस्तै ११ सय मिटरको सुरुङ निर्माण गरी च्याखुटारमा विद्युत गृह हुनेछ ।  जलाशयको क्षेत्र घर, बस्ती र खोला बगर गरेर ६ हजार ३ सय हेक्टर हुनेछ । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया