भन्सार र करबारे उद्योगी, व्यवसायीको गुनासो : सरकारले मतलब गरेन

 माघ ८, २०७६ बुधबार १५:४९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - उद्योगी व्यवसायीहरुले आफूहरुलाई सरकारले अझै पनि विश्वास गर्न नसकेको गुनासो गरेका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रममा उद्योगी व्यवसायीहरुले सरकारले नेपालका उद्योगी व्यवसायीहरुलाई विश्वास गर्न नसकेको बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीहरुले इमान्दार भएर काम गरे पनि केही व्यवसायीलाई देखाएर सरकारले विश्वास नगरेको बताउनुभएको हो । 

उहाँले भन्नुभयो, ‘भन्सार र  राजश्व जुन हिसाबले बढेको छ  । त्यो हिसाबले हामी इमान्दार छौँ । केही साथीहरुले विकृती गरे होलान । कानून विपरीत गरेका होलान्। तर, ९० प्रतिशतभन्दा बढीले कर तिर्न चाहन्छौँ ।’

वरिष्ठ उपाध्यक्ष गोल्छाले राम्रो भ्यालु एडिसन गरेर काम गर्ने र राम्रो रोजगारी सिर्जना गर्ने उद्योगहरुलाई सरकारले अझ बढी सुरक्षा दिनुपर्ने ठाउँमा विश्वास नगर्दा निरुत्साहित हुनुपरेको बताउनुभयो । 

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले ट्रस्टेड ट्रेडर्सको अवधारणा कार्यान्वयनमा ल्याउन आग्रह गर्नुभयो । उहाँले व्यापार सहजिकरणको मुलभूत सिद्धान्त अनुसार भन्सार कार्यालयले सेवा दिन नसकेको बताउनुभयो । 

उद्योगी व्यवसायीहरुले स्वदेशी उद्योगीले उत्पादन गरेको जलविद्युत विदेशमा बिक्री गर्न नसकिने कानून रहेको भन्दै त्यसमा पुनरावलोकन गर्न अर्थमन्त्रालयलाई आग्रह गरेका छन् । 

कपडा उद्योगीहरुले पनि सरकारले छुट दिएको भन्दै पत्रिकामा निकाल्ने तर उद्योगीहरुले केही पनि नपाउने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष चण्डीप्रसाद अर्यालले सरकारले २०७५ साल मंसिर २४ गते मन्त्रीपरिषद्बाट निर्णय भएका सुविधाहरु पत्रिकामा आएपनि आफूहरुले पाउन नसकेको बताउनुभयो । 

उद्योगी व्यवसायीहरुले व्यापार घाटा धेरै नै बढेकाले स्वदेश भित्र उत्पादन हुने वस्तुहरुको आयातमा कडाई गर्न आग्रह समेत गरेका छन् । उद्योगीहरुले उद्योगहरुले भन्सारमा पाउने सेवा सुविधाहरुलाई फेरी एकपटक पुर्नविचार गर्नुपर्नेमा जोड दिएका हुन् । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया