राजाको कथा : मलेसियादेखि मोटरसाइकल ग्यारेजसम्म

 माघ ९, २०७६ बिहिबार १६:१४:४५ | सन्जिता देवकोटा

झापा – देशमा राजा हटेको १३ वर्ष भइसक्यो । तर झापा मेचीनगरका ३१ वर्षीय सिक्ला किसान भने अझै राजा हुनुहुन्छ । आफ्नो समुदायले मानेका राजा ।

रहनसहन र चालचलन भने राजाको जस्तो छैन । तर सम्मान चाहिँ राजाको जस्तै । उहाँले गरेका निर्णय समुदायमा सर्वमान्य हुन्छ । समुदायको नेतृत्व उहाँले गर्नुहुन्छ । गलत गर्नेलाई कारबाही गर्नेदेखि समुदायमा विवाह, मृत्यु र चाडवाडमा उहाँकै भूमिका ठूलो हुन्छ । 

खैरो रङको हाफ टिसर्ट । टाउकोमा बुट्टे क्याप टोपी । हातभरी कालो लागेको । मैला लुगा । असिनपसिन अनुहार । बिर्तामोडको एक ग्यारेजमा सिक्लालाई भेट्दा लाग्यो ‘राजा पनि कस्तो मेहनती ।’

राजा भए पनि काम नगरी घर चल्दैन । दिनभरी काम नगरे बिहान बेलुका चुलो बल्दैन । सिक्ला यस्ता राजा हुनुहुन्छ, जो चुहिएको घरको छानो टाल्न मलेसिया पनि पुग्नुभयो ।  परदेशका दुःखसुख अनुभव गर्नुभयो । जस्तो गएको उस्तै फर्किनुभयो । जिन्दगीको संघर्ष चलिरहेको छ । यो संघर्षका पछि सिक्लाले अर्को भविष्य देख्नुभएको छ । 

‘गरिब राजा’ 

कसैलाई राजा मान्ने योे समुदायको चलन हो । तर यो समुदायका राजाका पनि दुःख, अभाव र संघर्ष छन् । सिक्लाकै शब्दमा भन्दा उहाँ एक ‘गरिब राजा’ हुनुहुन्छ ।
किसान समुदायको आफ्नै चालचलन छ ।

पूर्वको झापामा मात्र बसोबास गर्ने किसान  लोपोन्मुख समुदायमा पर्छ । औलो नलाग्ने जाति भनेर चिनिएका किसान समुदाय शुरुमा जंगल फाँडेर बस्थे । सिक्ला किसानको बाउबाजेले पनि ऐलानी जग्गा नै फाँडेर बसेका थिए । जो त्यतिबेला समुदायका राजा थिए । 

तर सिक्लाको कुरा सुन्दा थाहा भयो, राजाको भूमिका र अर्थ फरक रहेछ । यो समुदायका मानिस मिलेर बस्न चाहन्छन् । आफ्नो समुदायलाई एउटा नियममा राख्न चाहन्छन् । राजाको भूमिका पनि त्यही हो ।

राजासहित मन्त्री, वकिल र प्रहरीको भूमिका पनि समुदायकै मानिसलाई दिइएको हुन्छ । गाउँमा झैझगडा भएमा राजासहित सबै मिलेर सल्टाउनुपर्छ । कसैको विवाह भएमा पनि राजा नै त्यहाँ पुग्नपर्छ । राजाबिना कुनै पनि कर्म हुँदैन । 

गाउँमा राजालाई गाउँबुढो र महतो  पनि भन्छन् । राजाको शेषपछि उसको जेठो छोरा नै राजा हुने चलन छ । तर बालक भएमा अथवा कुनै कारणले राजाको भूमिका निर्वाह गर्न नसक्ने भएमा परिवारका अरु सदस्यले पनि राजालाई सघाउन सक्ने नियम छ । 

६ वर्षअघि राजा हुँदा सिक्लाको उमेर २५ वर्षको थियो । सिक्लाका काका तथा राजा भाविर किसानको मृत्युपछि सिक्ला राजा बन्नुभएको हो । ‘राजा हुनु भनेको आफ्नो समुदायको मात्र हैन, सिंगो समुदायको जिम्मेवारी लिनु रहेछ,’ आफू समुदायको राजा हुँदाको अनुभव सुनाउँदै सिक्ला भन्नुहुन्छ, ‘तर राजा बनेर म गाउँमा धेरै समय बस्न पाइनँ ।’

पद पो राजाको थियो त, अभाव अरुको सरह थियो । समुदायको सँगै घरको पनि जिम्मेवारी थियो । छानो चुहिने घर । गाउँमै गरेको कामबाट बालबच्चा पढाउन र घरव्यवहार चलाउन धौधौ । त्यसैले राजा भएको वर्ष दिन पनि बित्न नपाउँदै उहाँ २०७१ सालमा मलेसिया जानुभयो ।

 

म्यानपावर कम्पनीलाई मलेसिया जान १ लाख ३० हजार रुपैयाँ बुझाउनुभयो । अनि राजाको जिम्मेवारी चाहिँ श्रीमतीलाई दिनुभयो । 

‘अलिकति कमाउने, बालबच्चा राम्रो गरी पढाउने भन्ने त थियो नि, तर विदेश पनि उस्तै रहेछ,’ सिक्ला सम्झँदै भन्नुहुन्छ, ‘महिना मरेपछि तलब आउने अनि बचेकोजस्तो देखिने मात्र हो ।’

मलेसियामा सिक्लाको काम कार धुने कम्पनीमा थियो । गाडी सम्बन्धी नै काम भएकाले काममा धेरथोर सहज भयो सिक्लालाई । 

देश छाडेर कमाउन परदेश पुग्नु । भाषा र कामको ज्ञान नहुनु । दुःख एकाएक आइपर्छन् । सिक्लालाई यस्तै भयो । कार वास कम्पनीमा चार वर्ष बिताउनुभयो सिक्लाले ।

दुई वर्षसम्म मासिक कमाई ९ सय रिंगिट थियो । दुई वर्षपछि चाहिँ महिनाको १६ सय रिंगिट पुगेको थियो तलब । तलब बढे पनि उहाँले मलेसियामा बस्ने अवधि भने बढाउनुभएन । चार वर्ष मलेसियामा बसेर उहाँ गएको वर्ष असारमा घर फर्किनुभयो । 

पसिनाको कमाइले सिक्लाले छोराछोरीलाई राम्रो स्कुल पढाउनुभयो । एक कठ्ठा जग्गा किन्नुभयो । दुःख भए पनि समग्रमा मलेसिया बसाई राम्रै भयो । 
गाउँका अरु राजा कमाउन भन्दै परदेशिएनन् । जसोतसो घर चलाए । नाम नै किसान समुदाय ।

त्यसैले यो समुदायका मानिस जागिर गर्नुभन्दा बढी खेतीपातीमा बढी रमाउँछन् । कतिपय चियाबगानमा काम गर्छन् । धेरै बालबालिका विद्यालय जाँदैनन् । तर सिक्लाको सोच भने फरक थियो । उहाँलाई लाग्छ, ‘राजाले काम गरे अरुले पनि सिक्छन् ।’

दुई काम सँगसँगै

समुदायलाई  मिलाएर राख्नु नै राजाको पहिलो काम हो । कसैले गल्ती गरेमा राजाले मिलाउनु पर्छ । राजाले नै सजाय तोक्छन् । यो समुदायको आफ्नै नियम छ ।

अरु समुदायका केटी विवाह गर्न पाईंदैन । विवाहदेखि मृत्युसम्म आफ्नै संस्कार छ । त्यसको उल्लङ्घन गरेमा कारबाही हुन्छ । यो काम पनि राजाकै हो । 
समुदायसँगै घर चलाउन हिजोआज सिक्ला धुलाबारीकै एक मोटरसाइकल ग्यारेजमा काम गर्नुहुन्छ ।

हातमा भएको गाडी बनाउने सीप मलेसियामा केही तिखारियो । ‘अब मिस्त्रीको काम यतै गर्छु भन्ने लाग्यो, मैले यही काम गर्दा समुदायमा राजाको भूमिकामा गर्नुपर्ने काममा पनि कमी भएको छैन, मैले पनि कमाइ गरिरहेको छु,’ सिक्ला मुस्कुराउनुहुन्छ । 

उहाँ ग्यारेजका मुख्य मिस्त्री हुनुहुन्छ । उहाँलाई लाग्छ, हातमा पढाइ र सीप दुवै हुन जरुरी छ । हातमा सीप भए पनि पढाइ नहुँदा कति ठाउँमा अप्ठ्यारो परेको छ। 

‘मैले सीप भए पनि पढाइ नहुँदा दुःख पाएँ, मेरो छोराछोरीलाई त्यस्तो नहोस् भनेर पनि पढाउन यो मेहनत गरिरहेको छु,’ सिक्ला भन्नुहुन्छ । 

सिक्ला अहिले आफ्नै ठाउँमा काम गरेर २०/२५ हजार रुपैयाँ कमाउनुहुन्छ । आफूले धेरथोर आम्दानी गर्दा परिवारको अवस्था सुध्रिएको छ । सानो घर छ । बालबच्चा पढिरहेका छन् ।

एक कठ्ठा आफ्नो जग्गा पनि छ । हातमा सीप भएकाले पूँजी भए आफैं ग्यारेज चलाउँथें भन्ने लाग्छ उहाँलाई । बिस्तारै आफ्नो यो सपना पनि पूरा हुन्छ भन्नेमा उहाँलाई पूर्ण विश्वास छ ।

सिक्लालाई कतिले भन्छन् ‘राजा भएर पनि एकछिन बस्दैन ।’ तर सिक्ला भन्नुहुन्छ, ‘काम नगरी मेरो मन नै बस्दैन, राजाको पद र सम्मानले खान नदिने रहेछ, त्यसैले दुःख त गर्नै पर्छ ।’ त्यसैले त किसान समुदायका राजा सिक्ला काममै रमाउनुहुन्छ । 

अन्तिम अपडेट: फागुन ६, २०७६

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया