कोरोना भाइरस नेपाल आइपुगेको छैन : सरकार

 माघ ९, २०७६ बिहिबार १९:२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले ‘कोरोना भाइरस’ अहिलेसम्म नेपालमा नदेखिएको भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ । चीनबाट सुरु भएको ‘कोरोना भाइरस’ जापान, दक्षिण कोरिया, थाइल्याण्ड, हङ्कङ, ताइवान, अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकमा फैलिएको छ । 

तर नेपालमा अहिलेसम्म यस्तो प्रकृतिको भाइरस नदेखिएको सरकारले जनाएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ‘कोरोना भाइरस’ देखा परेमा कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा छलफल समेत भएको थियाे । 

छलफल पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा रहेको हेल्प डेस्कलाई थप प्रभावकारी बनाउने निर्णय भएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिनुभयो । 

उहाँले ‘कारोना भाइरस’ भएको शङ्का लाग्नेबित्तिकै विशेष एम्बुलेन्समार्फत अस्पतालसम्म पुर्‍याउने व्यवस्थासमेत गर्न लागिएको बताउनुभएकाे छ। उहाँले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, प्रहरी अस्पताल, पाटन हस्पिटल, टिचिङ हस्पिटल लगायतका अस्पतालहरुमा उपचार गर्न सकिनेसमेत बताउनुभयो । 

उहाँले अहिलेसम्म डराउनुपर्ने अवस्था नरहेको भए पनि एक प्रजातिबाट अर्को प्रजातिमा सजिलै सर्ने भएकाले र मानिसहरुमा पनि स्वास प्रस्वासबाट सर्ने भएकाले डरलाग्दो भएको बताउनुभयो ।

उहाँले ‘कोरोना भाइरस’ लागेमा रुघा लग्ने, ज्वरो आउने, कतिपयलाई निमोनिया हुने लगायतका लक्षणहरु देखापर्ने र मृत्यु समेत हुने बताउनुभयो । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया