साेनाम ल्हाेसार : वाग्मती प्रदेशमा सार्वजनिक बिदा

 माघ १०, २०७६ शुक्रबार ६:२८:४४ | रासस
unn.prixa.net

काठमाण्डाै – वाग्मती प्रदेश सरकारले शुक्रबार प्रदेशभरि सार्वजनिक बिदा दिएकाे छ । तामाङ समुदायको चाड सोनाम ल्होसारका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिइएको वाग्मती प्रदेशकाे आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सूचना जारी गर्दै प्रदेश सरकारको गएकाे पुस २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शुक्रबार सार्वजनिक बिदा दिइएको जनाएको छ । प्रदेश सरकारले बिदा घोषणा गरेकाले प्रदेशभर नै बिदा हुने वाग्मती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले जानकारी दिनुभयो ।

काठमाण्डाै उपत्यकाका हकमा भने केन्द्र सरकारको राजपत्रअनुसार हुने उहाँले बताउनु भयो । गृह मन्त्रालयले गएकाे वैशाखमा प्रकाशन गरेको राजपत्रअनुसार प्रदेश सरकारले बिदा दिँदा आफ्नो प्रदेशभित्रका केन्द्र मातहतका कार्यालयसहित सम्पूर्ण सरकारी कार्यालय, शिक्षालय, उद्योगधन्दा बन्द रहने छन् ।

केन्द्र सरकारले प्रदेश सरकारलाई बढीमा एक वर्षमा ६ दिन बिदा दिन पाउने अख्तियारी दिएको छ । त्यही अख्तियारीअनुसार प्रदेश सरकारले आफ्नो प्रदेशका महत्वपूर्ण धार्मिक, जातीय र सांस्कृतिक चाडपर्व आदिमा आवश्यकता हेरी बढीमा ६ दिनसम्म बिदा दिन पाउने व्यवस्था छ ।

६ दिनभन्दा बढी बिदामा भने केन्द्र मातहतका कार्यालयलाई गृह मन्त्रालयको निर्णय लागु हुनेछ । राजपत्रानुसार काठमाडौँ उपत्यकाका तीन जिल्लाका केन्द्र मातहतका कार्यालयलाई भने प्रदेश सरकारको बिदा लागू हुने छैन । राजपत्रको खण्ड 'ग' मा काठमाण्डाै उपत्यकाका तीन जिल्लामा प्रदेश सरकारले दिएको बिदा नेपाल सरकार, गृह मन्त्रालयको निर्णयअनुसार हुनेछ भनि उल्लेख गरिएको छ ।

काठमाण्डाैमा बिदा हुन्छः कानुन मन्त्री

वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले शुक्रबार १० गते प्रदेशका १३ वटै जिल्लाका सरकारी तथा सार्वजनिक निकायमा बिदा हुने बताउनु भएको छ । मन्त्री जम्कट्टेलले काठमाण्डाै उपत्यका पनि वाग्मती प्रदेशकै हिस्सा भएकाले त्यहाँ बिदा नहुने भन्ने भनाइ गलत भएको स्पष्ट पार्नुभयाे । 

उहाँले प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले ल्होछार (ल्हाेसार) का अवसरमा शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिने भनि गरेको निर्णय अनिवार्य लागू हुने बताउनु भयो । 'यो वा त्यो जिल्ला होइन, प्रदेशका १३ वटै जिल्लामा बिदा हुन्छ, उपत्यका (काठमाडौँ) पनि वाग्मती प्रदेशभित्रै पर्छ', उहाँले भन्नुभयो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया