रामेछापबाट वार्षिक १५ करोडको लोक्ता जापान निर्यात : वार्षिक ३० लाख आम्दानी गर्छन् किसान

 माघ १०, २०७६ शुक्रबार १७:५०:५७ | दीपक भट्ट
unn.prixa.net

 रामेछाप - रामेछापका उच्च लेकाली भूभागका किसानहरु व्यावसायिक लोक्ताकाे उत्पादनमा केन्द्रित हुन थालेका छन् । अर्गेलीबाट उत्पादित कच्चापदार्थ लोक्ता जापान निर्यात हुन थालेपछि किसानहरु यसतर्फ आकर्षित भएका हुन् । 

रामेछापको गोकुलगङ्गा गाउँपालिकाको चुचुरेमा अर्गेली खेती गर्दै आएका किसानहरुले मनग्य आम्दानी गरिरहेका छन् । अर्गेलीको बोक्रालाई उमालेर तयार पारिएको कच्चापदार्थ लोक्ता राम्रो मूल्यमा सिधै जापान निर्यात हुनेगर्छ । 

वार्षिक ३० टन लोक्ता रामेछापबाट जापान निर्यात हुने गरेको छ । किसानले प्रतिटन ५ लाख रुपैयाँको दरले १५ करोड रुपैयाँ वार्षिक आम्दानी गर्ने गरेका छन् ।

चुचुरेका कृषक निरबहादुर खड्का भन्नुहुन्छ, ‘अरु बालीको तुलनामा लोक्ताको उत्पादन बढी हुन्छ । अहिले किसानहरु अरु खेती छाडेर यस खेतीतर्फ लाग्न थालेका छन् ।  अर्गेलीबाट वार्षिक ३० लाख रुपैयाँसम्म सहजै कमाइ हुन्छ ।’

यहाँका सबै किसानहरुले यसलाई व्यवसायिक रुपमा उत्पादन गर्न सुरु गरेका छन् ।  

खेतीलाई थप विस्तार गर्न किसानहरुलाई गोकुल पालिकाले समेत गएको आर्थिक वर्षबाट अनुदान दिन सुरु गरेको छ । किसानहरुले अर्गेलीबाट उत्पादित कच्चापदार्थ लोक्ता रामेछापबाट बिक्रीको लागि ललितपुरको सातदोबाटोमा रहेको मिचुमाता कम्पनीमा पुर्याउने गरेका छन् । 

यस कम्पनीमार्फत कच्चापदार्थ जापान निर्यात हुने गरेको छ । अर्गेली बोटको फेदको भागको बोक्रालाई खाम, फायल बनाउन प्रयोग गरिन्छ । त्यस्तै बीचको भागबाट नेपाली कागज बनाउन र टुप्पोको भागलाइ जापानी ऐन (पैसा) बनाउन प्रयोग हुनेगर्छ । 

वर्षको ३ महिनामात्रै कच्चापदार्थ उत्पादन हुने गर्छ । खेतीबाट स्थानीय युवायुवतीहरुले समेत गाउँमै रोजगारी पाइरहेका छन् । अर्गेलीको बोक्रा तास्ने, तताउने, पेल्ने लगायतका कामबाट मासिक २० हजार देखि ३० हजार रुपैयाँसम्म आम्दानीहुने गरेको उनीहरु बताउँछन् ।

बाह्य स्थानमा कामको खोजीमा जानु पर्ने समस्या हटेको स्थानीय प्रेमबहादुर खड्काले बताउनुभयाे । 

उहाँले भन्नुभयो ‘काम अनुसारको पैसा पनि राम्रै पाइएको छ भने गाउँमै रोजगारीको सिर्जना भएको छ । याे खेतीलाई विस्तार गर्नसके रोजगारीका लागि बाहिरिनेको संख्यामा कमी आउँथ्यो ।’

चुचुरेका २५ जना किसानहरुले अर्गेलीकाे व्यवसायिक खेतिकाे सुरु गरेका छन् ।  करिब ५० जनाले रोजगारी समेत पाएका छन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया