ए डिभिजन लिग : सरस्वतीलाई हराउँदै मनाङ तालिकाकाे तेस्राे स्थानमा

 माघ १०, २०७६ शुक्रबार १४:२७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

शुक्रबार भएको खेलमा पुछारको सरस्वती क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले तालिकाको शीर्ष र दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी र मछिन्द्रसँग अंक बराबरी गरेको हो । आर्मी, मछिन्द्र र  मनाङ समान १६ अंकसहित शीर्ष तीन स्थानमा रहेका छन् । आर्मीले भने एक खेल कम खेलेको छ ।  

दशरथ रंगशालामा पहिलो हाफ गोलरहित बराबरी खेले पनि निर्णायक गोल मनाङले दोस्रो हाफको सुरुमै गरेको थियो । 

मनाङका लागि निशान लिम्बुले प्रहार गरेको फ्रीकिकलाई अन्जन विष्टले दाहिनेतिरबाट छाेएकाे बल बारमा लागेपछि रिबाउन्ड भएको थियो । उक्त बललाई कमल रानाले गोलमा परिणत गर्दै मनाङलाई अग्रता दिलाएका हुन् । त्याे अग्रता अन्तिम समयसम्म जारी राख्दै उसले जित निकाल्न सफल भएको हो । 

मनाङका लागि निर्णायक गोल गर्ने कमल राना केल्मी म्यान अफ द म्याच घोषित भए । मनाङ जारी लिगमा एक मात्र अपराजित टिम हो । उसले चार खेलमा जित र चार खेलमा ड्र गरेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया