विदेशमा रहेका नेपालीका लागि वैदेशिक रोजगार बचतपत्र खुल्यो, ४० करोड रुपैयाँसम्मकाे किन्न पाउने

 माघ १०, २०७६ शुक्रबार १४:४१:२७ | उज्यालो सहकर्मी

काठमाण्डौ – विदेशमा रहेका नेपालीका लागि शुक्रबार नेपाल राष्ट्र बैंकले ४० करोडको रुपैयाँको ‘वैदेशिक रोजगार बचतपत्र’ बिक्री खुला गरेको छ ।

वैदेशिक रोजगारीमा रहेका, फर्किएको ६ महिना नपुगेका, गैर आवासीय नेपालीले आफू र आफ्नो परिवारका सदस्या बुवाआमा, श्रीमान श्रीमती र छोराछोरीको नाममा बचतपत्र किन्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

बचतपत्र कम्तीमा १० हजार र बढीमा ४० करोड रुपैयाँसम्म किन्न पाइनेछ । बचतपत्रको वार्षिक ब्याजदर १० प्रतिशत दिइने र यसमा ब्याजदर कर लाग्ने राष्ट्र बैंकले जनाएको छ । पाँच वर्षे बचतपत्रको ब्याज भने ६/ ६ महिनामा खरिदकर्ता वा उनीहरुले इच्छाइएको व्यक्तिमार्फत भुक्तानी हुनेछ ।

बचतपत्र किनेकै दिनदेखि ब्याज पाइन्छ । बचतपत्र किन्न पासपोर्ट, भिसा, कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र र दुई प्रति फोटो चाहिन्छ । बचतपत्र किन्नका लागि सिटिजन्स बैंक, नबिल बैंक, माछापुच्छे, प्रभु, सनराइज, सिद्धार्थ, सानिमा र सेन्चुरी बैंकमार्फत फारम बुझाउन सकिन्छ ।

यस्तै, प्रभु मनी ट्रान्सफर, सेवा रेमिट र सिटी एक्सप्रेसबाट पनि बचतपत्र खरिदका लागि आवेदन बुझाउन सकिने राष्ट्र बैंकले जनाएको छ । आवेदन आउँदो चैत २१ गतेसम्म बुझाउन सकिनेछ ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया