कानुनी सर्वोच्चता अक्षरश: कार्यान्वयन हाेस् भनेर राजीनामा दिएको हुँ : प्याकुरेल

 माघ १०, २०७६ शुक्रबार १६:११:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - राष्ट्रपतिका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिनुभएको छ । 

संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउन, लोकतान्त्रिक मूल्य मान्यता र कानुनी सर्वोच्चताको अक्षरश कार्यान्वयनका लागि सक्रियतापूर्वक सहभागिता जनाउनका लागि विज्ञ पदबाट राजीनामा गरेको उहाँले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

शासकीय मामिलासम्बद्ध औपचारिकताको परिधिभित्र रहँदा यसका लागि सक्रिय सहभागिता जनाउन नसक्ने भएकाले राजीनामा दिएको विज्ञप्तिको आशय छ । 
साथै गणतन्त्रलाई बलियो बनाउन राष्ट्रपति लगायत सबै उच्च संस्थाहरु उच्च लोकतान्त्रिक मूल्य, मान्यता र नैतिकताप्रति सजग हुनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ । 

उहाँले भन्नुभएको छ, ‘लोकतान्त्रिक आन्दोलनका दौरानमा सिकेको सबैभन्दा ठूलो शिक्षा के हो भने, कुनै पनि औपचारिक जिम्मेवारीमा आसीन हुन आवश्यक पर्ने सबैभन्दा ठूलो योग्यता उच्च नैतिक चरित्र तथा देश र नागरिक प्रतिको उत्तरदायित्व हो ।’ 

सुदृढ लोकतन्त्रका लागि कानुनका सामु सबैको समान हैसियत कायम गराउने गणतन्त्र नेपालका आम नेपालीको आकाक्षाको पक्षमा योगदान गर्न आफूले राष्ट्रपतिको विज्ञ सल्लाहकारको पदबाट राजीनामा दिएको पनि उहाँले उल्लेख गर्नुभएको छ । 

ठूलो संघर्षबाट स्थापित गरेको राजनीतिक प्रणालीले मानव अधिकार र सामाजिक न्यायको निःशर्त र पूर्ण सम्मान गर्ने राष्ट्रका रुपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उज्यालो बनाउनु अहिलेको आवश्यकता रहेको पनि उहाँले औँल्याउनुभएको छ ।

नेकपाले सभामुख बनाउन लागेका अग्नि सापकोटाविरुद्ध प्याकुरेलले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । 

काभ्रे छत्रबाँझका अर्जुन लामाको हत्यामा संलग्न भएको भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले सापकोटाविरुद्ध २०६९ मंसिर ७ गते सर्वोच्चमा मुद्धा दायर गर्नुभएको थियो ।  

द्वन्द्वका बेला २०६२ मंसिर १६ गते तत्कालीन माओवादी कार्यकर्ताको अपहरणमा परेका लामाको शव दुई महिनापछि काभ्रेकै बुढाखानी गाविसको चारकिल्ला भन्ने ठाउँमा गाडेको अवस्थामा फेला परेको थियो ।

मानव अधिकार क्षेत्रमा क्रियाशील प्याकुरेलले हत्या आरोप लागेका सापकोटाविरुद्धको मुद्दा अघि बढाउन भन्दै २०७२ चैत २६ मा सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।  

मानवअधिकार सम्बन्धी सुझाव र सल्लाह दिनेगरी २०७४ चैत ९ गते प्याकुरेल राष्ट्रपतिको विज्ञ सल्लाहकारमा नियुक्त हुनुभएको थियो । यसअघि राष्ट्रपति भण्डारीको पहिलो कार्यकालमा पनि प्याकुरेल दुई वर्ष विज्ञ सल्लाहकार हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया