पत्रकार श्रेष्ठकोे पुस्तक – नेपाली प्रवासन : नियति र रहर

 माघ १०, २०७६ शुक्रबार १९:४:१४ | उज्यालो सहकर्मी

ललितपुर – वैदेशिक रोजगारीमा दुःख र पीडा मात्र छैनन्, सुख र सन्तुष्टी पनि छन् । वैदेशिक रोजगारीले आँखामा आँसु मात्र होइन, ओठमा मुस्कान पनि ल्याएको छ । वैदेशिक रोजगारीका यस्तै–यस्तै बाध्यता र रहरका कथा समेटिएको पुस्तक हो ‘नेपाली प्रवासन नियति र रहर’ ।

पुस्तकका लेखक हुनुहुन्छ, पत्रकार डम्बरकृष्ण श्रेष्ठ । शुक्रबार ललितपुरमा पुस्तकको विमोचन भयो । पत्रकार श्रेष्ठले वि.स २०५६ देखि २०७२ सालसम्म हिमाल खबरपत्रिकामा रिपोर्टिङ गर्ने क्रममा लेखिएका खोजमुलक र विशेष महत्वका ४१ वटा सामग्री पुस्तकमा समेट्नुभएको छ ।  पुस्तकमा वैदेशिक रोजगारीमा हुने पीडा, यसले दिने खुसी, यो क्षेत्रको बेथीति पढ्न पाइन्छ ।

पुस्तक विमोचन समारोहमा निकै भावुक हुनुभयो डम्बरकृष्ण । आँखा आँसुले टिल्पिलाए । आफू १६÷१७ वर्षको उमेरदेखि नै पत्रकारिता गर्न थालेको र यो पुस्तक २० वर्षे पत्रकारिताको परिणाम भएको बताउनुभयो । 

वि.सं. २०५२ देखि धरानको साप्ताहिक  पत्रिका सयपत्रीबाट पत्रकारिताको यात्रा सुरु गरेका डम्बर२०५६ सालदेखि हिमाल खबरपत्रिकामा आउनुभयो । हिमाल खबर पत्रिकामा रिपोर्टिङ गर्ने क्रममा नै उहाँले वैदेशिक रोजगारीको क्षेत्रमा कलम चलाउन थाल्नुभयो । 

जतिबेला मूलधारका मिडियामा वैदेशिक रोजगारीको बारेमा चर्चा हुँदैन थियो । वैदेशिक रोजगारीमा महिला गएको भए त झनै त्यसलाई बेचविखन र यौन हिंसाको आरोप लगाइन्थ्यो । यस्तो मान्यतालाई आफूले पत्रकारितामार्फत चिर्न सफल भएको श्रेष्ठले बताउनुभयो ।

वि.सं. २०५९ सालमा हिमाल खबर पत्रिकामा उहाँको ‘कमाउँदै छन् महिला पनि’भन्ने स्टोरी छापियो । वैदेशिक रोजगारीमा जापान पुगेर त्यहाँबाटको कमाइले धरान र काठमाण्डौमा घर बनाउनुभएकी धरानकी शारदा श्रेष्ठको कथा थियो त्यो । 

वैदेशिक रोजगारीले पीडा मात्र नदिएर चुहुने घरको छानो पनि छाएको भन्दै डम्बरले भन्नुभयो, ‘वैदेशिक रोजगारीकै कारण देशमा युवामा चेतना र सीपको विकास भएको छ, यो पुस्तक वैदेशिक रोजगारीको रहर र कहरबीचको पुल बन्ने अपेक्षा गरेको छु ।’ 

पुस्तकको समिक्षा गर्दै हिमाल खबर पत्रिकाका तत्कालीन सम्पादक तथा शिक्षक मासिक पत्रिकाका सम्पादक राजेन्द्र दाहालले यो पुस्तक डम्बरको लगनशिलताको कारण भएको बताउनुभयो । 

हिमाल पत्रिकाका सम्पादक किरण नेपालले भन्नुभयो, ‘यो पुस्तक सिङ्गो नेपाली समाजको विगत २० वर्षको हरेक पाटोको कथा हो, अध्यताका लागि सन्दर्भसामग्रीको रुपमा काम लाग्न सक्छ ।’

यस्तै वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङले वैदेशिक रोजगारीमा दुःख र पीडा मात्र नभएर खुसी र सन्तुष्टी पनि मिल्छ भन्ने कुरा पुस्तकमा पढ्न पाइने भन्दै प्रशंसा गर्नुभयो । 

पुस्तक हिमाल किताब सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटी सोसल साइन्स बहाका लागि हिमाल किताब प्रालिले प्रकाशित गरेको हो । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया