जर्मनीका मेसुट ओजिलले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

 साउन ७, २०७५ सोमबार ८:१५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

जर्मनीका मेसुट ओजिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । 

गएराति ४ पृष्ठ लामो विज्ञप्ति जारी गर्दै उनले जर्मनीबाट अन्तर्राष्ट्रिय खेल नखेल्ने घोषणा गरेका हुन् ।

इंग्लिस क्लब आर्सनलका मिडफील्डर ओजिललाई विश्वकपमा जर्मनीको खराब प्रदर्शनको आरोप पनि लाग्दै आएको थियो ।

टर्कीका राष्ट्रपति रिसेप तयोप एर्दोगानसँग लण्डनमा फोटो खिचाएपछि ओजिलको झनै आलोचना भएको थियो ।

टर्कीका राष्ट्रपतिसँगको फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना खेपेका २९ बर्षिय ओजिलले नस्लवादको आरोप र आत्मसम्मानमा चोट पुगेको भन्दै सन्यासको घोषणा गरेको बताएका छन् । 

२००९ मा डेब्यू गरेका ओजिलले ९२ क्याप जितेका छन् । जर्मनीका लागि २३ गोल गरेका ओजिल २०१४ को विश्व विजेता हुँदा महत्वपूर्ण खेलाडी थिए ।

पाँच पटक जर्मन प्लेयर अफ दी इयर हात पारेका ओजिलले सन्यास घोषणा गर्दाको विज्ञप्तिमा भनेका छन्, ‘सन्यास घोषणा गर्नु आफैमा मेरा लागि कठिन र चुनौतिपूर्ण काम हो ।’

जर्मर्नीका जनता र फुटबल प्रेमीहरु प्रति विज्ञप्तिमा नम्र देखिएका ओजिल राजनीतिक दलहरु प्रति भने असन्तुष्ट देखिए ।

जर्मनी र टर्कीका राष्ट्रपति बीच राम्रो सम्बन्ध नभएका कारण फोटो प्रकरणमा ओजिलमाथि नेताहरुले आक्रोश व्यक्त गरेका थिए । यस विषयमा पनि उनले प्रष्टिकरण दिँदै टर्कीमा राजनीतिक स्वार्थपूर्तिका लागि प्रोपोगाण्डा मच्चाएको उल्लेख गरेका छन् ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया