कांग्रेसभित्रको विवाद मिल्यो, ताेकिएकै मितिमा महाधिवेशन

 माघ १०, २०७६ शुक्रबार १९:४८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - शीर्ष नेताहरुको लामो प्रयासपछि नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधान भएको छ । शुक्रबार सभापति शेरबहादुर देउवा निवासमा भएको शीर्ष नेताहरुको छलफलले विवाद समाधान गर्दै अगाडि बढ्ने सहमति गरेको हो ।  

सहमतिअनुसार १४ औंँ महाधिवेशन पूर्व निर्धारित मिति २०७७ फागुन ७ देखि १० सम्म नै हुनेछ । तर त्यसको कार्यतालिका र कार्यविधि भने संशोधन हुनेछ । शीर्ष नेताहरुबीच महाधिवेशन तोकिएकै समयमा गर्ने सहमति भए पनि तल्ला तहको मिति भने केही हेरफेर हुने भएको हाे ।

नेताहरुबीच सभापति देउवाको प्रस्तावमा बढाइएका विभागहरुका विषयमा पनि सहमति जुटेको छ । तल्ला तहको महाधिवेशन कहिले गर्ने भन्ने विषयमा शनिबार टुंगो लाग्ने छ । 

गएकाे पुस ११ मा केन्द्रीय समिति बैठकले बहुमतका आधारमा गरेको निर्णय अनुसार कांग्रेसभित्र ४७ वटा विभाग राख्ने निर्णय यथावत रहनेछ । शुक्रबार नै नेताहरुबीच नेविसंघ र तरुण दलसम्बन्धि सहमति पनि जुटेको छ ।

उपसभापति विमेलन्द्र निधिका अनुसार नेपाल विद्यार्थी संघको अध्यक्षमा सभापतिले तोकेकै व्यक्ति हुने सहमति जुटेको हो । कार्यसमितिमा वरिष्ठ नेता पौडेल र सिटौला पक्षका नेताहरुको समेत प्रतिनिधित्व हुनेछ ।

 त्यसैगरी तरुण दलको म्याद ६ महिना थप गर्ने निर्णय भएको उहाँले बताउनुभयो । शीर्ष नेताहरुबीच भएको सहमतिलाई अन्तिम रुप दिन सोमबार केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया