श्रीमान् त रहेनन्, तर सरकार र बीमाको रकमले बाँच्ने साहस दिलायो लालसालाई

 माघ १२, २०७६ आइतबार १२:१९:४६

प्रभात कुमार वर्मा

बारा – मानिसको जीवनमा कतिबेला कस्तो विपत आइपर्छ थाहा हुँदैन । आशा गरेर बसिरहेको बेला एकाएक निराशाको बादल मडारिन्छ । बाराकी लालसादेवी बैठाको जीवनमा पनि यस्तै भयो । 

परिवारको सुखद भविष्यको लागि वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका उहाँका श्रीमान ‘ब्लड क्यान्सर’ रोग बोकेर घर फर्किए । त्यसपछि सुरु भयो लालसाको जीवनमा निराशा ।

हुन त लालसाको जिन्दगीमा कहिल्यै पनि खुशी छाउन सकेन । आमाबुवाको सात सन्तानमध्ये दोस्रो सन्तान । छोरीलाई चाँडै बिहे गरेर पठाइदिए ढुक्क भइन्छ भन्ने बुवाआमाको सोच । सुवर्ण गाउँपालिकाको मझरियाका लालबहादुर बैठासँग सानै उमेरमा लालसाको बिहे भयो । 

माइतीमा गरिबीको चपेटामा परेकी लालसालाई बिहेपछि पनि गरिबीले छाडेन । बिहान बेलुकाको छाक टार्न इँटाभट्टामा काम गर्नुपर्ने बाध्यता थियो लालबहादुरको पनि ।

खेती गर्नको लागि आफ्नो जग्गा थिएन । त्यही भएर घर खर्च टार्नलाई नजिकको इँटा भट्टामा आफ्ना दुई दाजुभाइसँगै लालबहादुर पनि काम गर्नुहुन्थ्यो । बिहे गरेको केही वर्षमै लालसाको छोरो जन्मियो । त्यही बीचमा साहुबाट ऋण लिएर लालबहादुरले गाउँमै दुई धुर जग्गा पनि किन्नुभएको थियो । 

छोराको भविष्य र जग्गा किन्दाको ऋण तिर्न इँटा भट्टाको कामको कमाइले सम्भव नदेखिेपछि लालबहादुरले विदेश जाने सोच बनाउनुभयो ।  विदेश जानको लागि पनि पैसा त चाहियो नै । फेरि ऋण काढेर वि.सं २०७३ सालको पुस २६ गते लालबहादुर कम्पनी कामदारको रुपमा मलेसिया जानुभयो । त्यतीबेला लालसाको गर्भमा तीन महिनाकी छोरी हुर्कीरहेकी थिई ।

मलेसिया गएको दुई वर्ष भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि लालबहादुरले स्वास्थ्य परीक्षण गर्नुभयो । स्वास्थ्य परीक्षण गर्दा ब्लड क्यान्सर भएको थाहा भयो । त्यसपछि उहाँका सबै सपना एकाएक चकनाचुर भए । 

लालबहादुरलाई काम गर्ने कम्पनीले टिकट काटेर नेपाल पठाइदियो । उपचार त गर्नुपर्यो । तर परिवारसँग पैसा थिएन । भएको पैसा मलेसियामै उपचार गर्दा सकियो । काम गर्ने कम्पनीले पनि उपचार नगरिदिएपछि गर्ने कसले ?

लालसाले श्रीमानको उपचारको लागि सकेजति प्रयास गर्नुभयो । नेपालको वीर र शिक्षण अस्पतालदेखि भारत बिहारको पटनासम्म पुग्नुभयो । तर श्रीमानलाई बचाउन सक्नुभएन । २०७५ सालको चैतमा ३० वर्षको उमेरमा लालबहादुर सधैंका लागि छोडेर जानुभयोे । 

श्रीमान्को मृत्युपछि झन् बढ्यो समस्या

लालसाले ऋण लिएर लालबहादुरको उपचारको खर्च जुटाएको थियो । तर जति खर्च गरे पनि बचाउन सकिएन । मान्छे नबचे पनि ऋण त फिर्ता गर्नुपर्यो । यही कुराले लालसालाई बारम्बार सताइरहन्थ्यो । 

लालसा मनोवैज्ञानिक र आर्थिक दुवैतिरबाट धेरै कमजोर बन्नुभयो । उहाँलाई परिवारले पनि दुःखमा साथ दिएन । ‘मलाई श्रीमान नहुँदा परिवारबाट पनि असहयोग भयो’ लालसाले रुँदै भन्नुभयो, ‘मेरै श्रीमानको मृत्युदर्ता पत्र पनि परिवारले दिन मानेनन् ।’

श्रीमान् नभएको परिवार, त्यसैमाथि गरिबी र परिवारको असहयोग । छोरीको यस्तो अवस्था देखेर लालसाका बुवाले उहाँलाई आफ्नै घरमा बोलाउनुभयो । 
बोर्ड र बीमाको राहतले लालसामा आशा जाग्यो

लालसालाई वैदेशिक रोजगार बोर्डबाट सहायता पाइन्छ भन्ने जानकारी नै थिएन । नेपालबाट श्रम स्वीकृति लिएर गएका लालबहादुरको मृत्यु  श्रम अवधि नसकिंदै भएको थियो ।

श्रम अवधि नसकिँदै ज्यान गएमा वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहयोग पाउने व्यवस्था छ । तर श्रीमानको मृत्यु भएको आठ महिनापछि मात्रै लालसाले आफ्नो मामाबाट यसबारे थाहा पाउनुभयो ।

उहाँको मामाले ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) र कलैया उपमहानगरपालिकाकोे साझेदारीमा जिल्ला प्रशासन कार्यालय बारामा सञ्चालित आप्रवासी श्रोत केन्द्रबाट सूचना लिनुभएको थियो ।

छोराछोरीलाई पढ्नको लागि छात्रवृत्ति पाउने भनेपछि लालसाको अनुहारमा अलिकति खुसी छायो । त्यसैको बारेमा बुझ्न आप्रवासी श्रोत केन्द्रमा पुग्नुभयो । त्यहाँ पुगेपछि उहाँले थप बीमा र वैदेशिक रोजगार बोर्डबाट थप आर्थिक सहायताको लागि आप्रवासी श्रोत केन्द्रले सबै कागजातहरु मिलाएर काठमाण्डौ पठायो ।

राहत रकम पाइन्छ भन्ने थाहा पाउन नसकेकी लालसालाई आप्रवासी श्रोत केन्द्रले सहयोग गरिदियो । लालसाले बीमा कम्पनीबाट १३ लाख र वैदेशिक रोजगार बोर्डबाट ७ लाख गरी २० लाख रुपैयाँ राहत पाउनुभयो । राहत रकम पाएपछि उहाँको अनुहारमा अलिकति उज्यालो छाएको छ ।

‘राहत रकमले घर व्यवहार धान्ने आशा पलाएको छ’ उहाँले भन्नुभयो, ‘आप्रवासी केन्द्रको सहयोगले गर्दा मैले राहत रकम पाउन सफल भएँ ।’

वैदेशिक रोजगारीमा गएका कामदारको करार अवधिभित्र गन्तव्य देशमा वा स्वदेशमै पनि कुनै कारणले मृत्यु भएमा परिवारका सदस्यले सात लाख रुपैयाँ राहत रकम पाउने व्यवस्था छ । 

अन्तिम अपडेट: माघ २९, २०७६

तपाईको प्रतिक्रिया