प्रदेश २ को राजधानी जनकपुरधाम राख्ने सहमति

 माघ १२, २०७६ आइतबार १९:४४:२ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम नै राख्ने सहमति भएको छ ।

सभामुख सरोजकुमार यादवको संयोजकत्वमा प्रदेशको नामाकरण र राजधानी टुंगो लगाउन गठित संसदीय विशेष समितिको आइतबारकाे बैठकबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम राख्ने सहमति भएको हाे ।

जनकपुरामलाई नै राजधानीको रुपमा कायम गर्ने निर्णय सर्वसम्मतले पारित भएको समितिका संयोजकसमेत रहेका सभामुख सरोजकुमार यादवले सञ्चारकर्मीलाई जानकारी दिनुभयाे।

यादवका अनुसार उत्तरमा धनुषाको मिथिला नगरपालिकाको ढल्केवर, दक्षिणमा भारतको सीमा तथा पूर्व र पश्चिमतर्फ मिथिला माध्यमिकी परिक्रमा क्षेत्रसम्म राजधानीको सिमाना तोक्ने सहमति भएको हो । समितिले टुंगो लगाएको राजधानी जनकपुर प्रदेशसभाको दुईतिहाई बहुमतले पारित गरेपछि राजधानीको औपचारिक रुपमा कायम हुनेछ ।

विभिन्न दलका प्रस्तावक तथा समर्थक, प्रस्तावका संशोधनकर्ता समेतलाई बोलाएर छलफल गरी उक्त निर्णयमा पुगिएको सभामुख यादवले बताउनु भएको छ । पारित भएको प्रस्ताव नेकपा, समाजवादी र राजपाले दर्ता गरेका थिए भने नेपाली कांग्रेसले जनकपुरधाम उपमहानगरपालिकाभित्र राजधानी हुनुपर्ने प्रस्ताव गरेको थियो ।

समितिमा उपसभामुख उपमा देव, नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव र सांसद नरेश यादव, समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्रकुमार यादव, नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डल, सांसद रामकुमार यादव, र संसदीय दलका उपनेता रामआशिष यादव, राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साह र सांसद रानी शर्मा तिवारी तथा नेपाल संघीय समाजवादीकी सांसद सावित्रीदेवी साह सदस्य रहेनुभएकाे छ ।

प्रदेशको राजाधानी र नाम सम्बन्धमा विभिन्न दलका सांसदहरूले प्रदेश सभामा भदौ ५ गते प्रस्ताव दर्ता गरेका थियो । प्रदेशको राजधानीको विषयमा विशेष समितिमा टुंगो लागेपनि नामको विषयमा सहमति हुन सकेको छैन । नामको टुंगो लगाउने विषयमा विशेष समितिमा छलफल भइरहेको सभामुख यादवले जनाउनु भएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

1 Comments

  • वशन्त साह कलवार

    Dec. 15, 2021, 6:18 p.m.

    प्रदेश नं २ को नामकरण मा मिथिला प्रदेश सरकार भएमा महान र मैथिली भाषा लिपि घोषणा गर्नु पर्ने बाध्यताले आमजनताको विश्व प्रसिद्ध राजनीतिज्ञ तथा वर्तमान राजनैतिक अवस्था अनुसार ले नेपाल भित्र जनकपुर प्रदेश नं २ असल राज्य हुन्छन् ।

  •  0 Reply

तपाईको प्रतिक्रिया