साथीकाे हत्या गर्ने बङ्गलादेशी नागरिक पक्राउ

 माघ १६, २०७६ बिहिबार १२:९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – साथीको हत्या गर्ने बङ्गलादेशी नागरिक दुला मियाँलाई प्रहरीले पक्राउ गरेको छ । मियाँले सँगै काठमाडौँ आएका ढाकाकाे सनरे ट्राभल टुर्स प्रालीका सञ्चालक मोहिद्दिन अहमदको हत्या गरी फरार भएका थिए । 

काठमाण्डाैकाे सोल्टीमोडमा रहेकाे होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठामा सँगै बसेका बेला रक्सीकाे बोतलले हानेर हत्या गरी फरार भएका उनलाई बुधबार राति लहानबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डाैका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले जानकारी दिनुभयो । 

याे घटना गएकाे माघ ६ गते भएको थियो । घटना घटाएर फरार भएका मिया रक्सौल, काँकडभिट्टा हुँदै फेरि नेपाल फर्किएर आउँदै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ । हत्या आरोपी मियाँ मृतक अहमदका भाइले सञ्चालन गरेको ओसन ट्राभल टुर्स प्रालीका व्यवस्थापक भएको खुल्न आएको छ । 

उनले होटलको कोठामै रहँदा सुरुमा बोतलले टाउकोमा प्रहार गरेको र त्यसपछि त्यही सिसाले घाँटीमा हानेर मारेको देखिएको परिसरका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले जानकारी दिनुभयो । त्यसपछि उनले शवलाई सिरकले ओढाएर मानिस सुतेजस्तो बनाइ छाडेर भागेका थिए । 
    
प्रहरीका अनुसार अहमद सन् २०१५ देखि नेपाल आउने जाने गर्थे । उनी विभिन्न होटलको क्यासिनोका नियमित ग्राहक थिए । यसपालि उनीहरु गएकाे माघ ६ गते पछिल्लो पटक नेपाल आएका थिए । हिमालय एअरलाइन्सको सिट १० को 'बी' र 'सी' मा बसेर उनीहरु आएको खुलेको छ । 

एउटै कोठाको एउटै बेडमा बसेका व्यक्तिले भोलिपल्ट ७ गते हत्या गरेको र प्रहरीलाई भने ८ गते मात्रै खबर आएको थियो । उनीहरु होटलमा दैनिक १५ सयमा भाडा तिर्ने गरी बसेका थिए ।

प्रारम्भिक अनुसन्धानमा उसलाई कसैले मार्न लगाएको देखिएको प्रहरीले जनाएको छ । उनीहरुका आफन्तले पनि त्यही आशङ्का गरेका छन् । आवश्यक अनुसन्धान पूरा गरी चार दिनअघि नै आफन्तले शव लिएर गइसकेका छन् । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया