आईसीपी : उद्घाटन भयो, सञ्चालन हुन बाँकी

 माघ १७, २०७६ शुक्रबार १२:२०:४० | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - विराटनगरमा बनेको एकीकृत भन्सार जाँच चौकी आईसीपीको अघिल्लो हप्ता नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रभानमन्त्री नरेन्द्र मोदीबाट भिडियो कन्फ्रेन्सबाट उद्घाटन भयो । उद्घाटन भएको आईसीपी सञ्चालनमा आइसकेको छैन । अबको केही दिनमा सञ्चालमा ल्याउने तयारी छ ।

आईसीपीमा अन्तर्राष्ट्रियस्तरका सुविधा छन् । भन्सार, अध्यागमन र क्वारेन्टाइनसम्बन्धी सबै सुविधा उपलब्ध हुने आईसीपी ल्याण्ड पोर्ट  (भू–बन्दरगाह) पनि हो । यसमा यात्रु तथा पर्यटकहरुले पनि सुविधा पाउँछन् । खासगरी सीमामा बोर्डर लिंक गराउने संरचनाले तीन क्षेत्र समेटेको हुन्छ । यसबाट बोर्डर सेक्युरिटी (सीमा सुरक्षा), इमिग्रेसन (अध्यागमन) र कार्गो हेल्डिलिङ्सको काम हुन्छ । 

योसँगै क्वारेन्टाइनको काम पनि आईसीपी क्षेत्रमै हुनुले व्यवसायीले बढी फाईदा लिन सक्छन् । मोरङ ब्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले एकै ठाउँबाट धेरै काम हुने भएपछि झण्झट कम भएको बताउनुभयो । 

यही ठाउँबाट पशुपंक्षी तथा खाद्यान्नको परीक्षण पनि हुनेछ । विराटनगर आईसीपीमा पाँच सय मालबाहक ट्रक आउ–जाउ गर्न सक्ने क्षमताको रहेको निर्माण कम्पनीको दाबी छ  । रेफ्रिजिनेरेटर सुविधासहितको गोदाम घर र सिसी टिभीको सुरक्षा निगरानीमा रहेको बिराटनगर भन्सार कार्यालयका प्रमुख शिव भण्डारीले बताउनुभयो । 

आयात निर्यातको कार्यलाई सरल र सहज होस भनेर एकै ठाउँबाट एकीकृत सेवा उपलब्ध गराईएको छ  ।  यसबाट  नेपालतर्फको मात्र नभई भारततर्फ निकासी हुने मालबस्तु पठाउन सजिलो हुने नेपालस्थित भारतीय दूतावासका प्रथम अर्थसचिव प्रभजितसिंह गुलाठीले जानकारी दिनुभयो ।

आईसीपी निर्माण गर्न नेपाल र भारत सरकारबीच १६ मार्च २०१७ मा सम्झौता भएको थियो । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया