ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई डेढ घण्टाको सचेतनामूलक कक्षा

 माघ २०, २०७६ सोमबार ७:३४:१४ | उषा तामाङ
unn.prixa.net

दोलखा - गाडी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले सचेतनामूलक कक्षा दिन सुरु गरेको छ । दोलखामा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमै गाडी दुर्घटनाबाट १० जनाको ज्यान गएपछि ट्राफिक प्रहरी कार्यालयले गएको माघ २ गतेदेखि सचेतनामूलक कक्षा सञ्चालन सुरु गरेको हो । 

जिल्लाको विभिन्न ठाउँमा गरिएको ट्राफिक जाँचका क्रममा प्रत्यक्ष ट्राफिक नियम उल्लङ्घन गर्नेको संख्या धेरै पाइएपछि कक्षा सञ्चालन गर्न सुरु गरिएको हो । 

तीन पटक सञ्चालन गरिएको सचेतना कक्षामा अहिलेसम्म ७२ जना चालक सहभागी भइसकेका जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका इन्चार्ज प्रहरी नायव निरीक्षक गोकर्ण नेपालले जानकारी दिनुभयो ।  

प्रत्यक बिहिबार डेढ घण्टाको कक्षा अनिवार्य लिएपछि मात्रै सवारी चालकको आवश्यक कागजात फिर्ता गरिदै आएको छ । सचेतनामूलक कक्षामा पहिलो पटक माघ २ गते बिहीबार ३५ जना, ९ गते २५ जना र १६ गते १२ जना सवारी चालक सहभागी भएका छन् । 

ट्राफिक नियम उल्लङ्घन गरी सचेतनामूलक कक्षामा सहभागी हुने चालकमध्ये सबैभन्दा बढी बोलेरो चालक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका ट्राफिक प्रहरी हवल्दार जगदीश कार्कीले जानकारी दिनुभयो । 

सचेतनामूलक कक्षामा कानुनी कारबाही, सम्भावित दुर्घटनाका श्रव्य दृश्य सामग्री, लाईसेन्स नभएकालाई प्राप्त गर्ने तरिका, जाँडरक्सी पिएर गाडी चलाउँदा हुनसक्ने दुर्घटना लगायतका विषयमा जानकारी गराइएकाे छ । 

यसअघि नियम उल्लङ्घन गर्ने सवारी चालकलाई जरिवाना तिराई छाड्ने गरिए पनि अब भने सचेतनामूलक कक्षा अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको हो। 

 

अन्तिम अपडेट: चैत २३, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया