निकुञ्ज क्षेत्रमा हुने गरेका नियमविपरीतका हेलिकप्टर उडानका विषयमा केन्द्रमा छलफल हुँदै

 माघ २१, २०७६ मंगलबार २०:१३:० | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु : सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हुने गरेका नियमविपरीतका हेलिकप्टर उडानको विषयमा केन्द्रीय स्तरमा छलफल हुने भएको छ ।

निकुञ्ज क्षेत्रमा मापदण्ड विपरीत कम उचाइको हेलिकप्टर उडानले वन्यजन्तुको जीवनचक्र धरापमा परेको समाचार उज्यालो अनलाइनमा प्रकाशित भएपछि त्यस विषयले आफ्नो ध्यानार्कषण भएकाले केन्द्रीय स्तरको छलफलमा राख्ने निकुञ्जका प्रमुख भुमिराज उपाध्यले बताउनुभयो ।

उहाँका अनुसार यही माग २२ गतेबाट भक्तपुरमा हुन लागेको वार्डेन सम्मेलनमा त्यस विषयलाई समावेश गरी छलफलको रुपमा उठाउने निर्णय भएको छ । निकुञ्जका प्रमुख उपाध्यले निकुञ्जमा बिनाअनुमति कम उचाइमा हेलिकप्टर उडान हुने क्रम बढेकाले त्यसको प्रत्यक्ष असर वन्यजन्तुको जीवनचक्रमा पर्ने बताउनुभयो । वन्यजन्तुहरु अत्यन्तै शान्त स्वभावका हुने भएकाले हेलिकप्टरको ठूलो आवाजले उनीहरु आतंकित हुने उहाँको भनाइ छ ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा रहेकाे सगरमाथा वन्यजन्तु राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा समेत सूचीकृत छ । तर पछिल्लो समयमा निकुञ्ज क्षेत्रमा हुने गरेको अवैधानिक हेलिकप्टर उडानले सरक्षित जन्तुको जीवनचक्रमा गम्भीर असर पर्ने भन्दै विज्ञहरुले समेत चिन्ता व्यक्त गरेका छन् ।

मापदण्ड विपरीत उडान गर्दा वन्यजन्तुलाई प्रतिकूल असर गर्ने भएकाले उडान नियन्त्रण गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई सुझाव समेत दिइएको छ ।

 हेलिकप्टरको बाक्लो उडान, जथाभावी अवतरण र ठूलो आवाजले वन्यजन्तु हताहत हुने र मर्नेसमेत अवस्था आउने विज्ञहरुको सुझाव छ । तर हेलिकप्टर कम्पनीहरुले जथाभावी उडान गर्दै आएको निकुञ्जका प्रमुख उपाध्यको भनाइ छ ।

सिजनको समयमा दैनिक १ सय ९० भन्दा बढी पटक हेलिकप्टर उडान तथा अवतरण हुने गरेको लुक्ला विमानस्थलको तथ्यांक छ । तर लुक्लाभन्दा माथिको फाक्दिङ, नाम्चे, होटल एभरेस्ट, दिंबुचे, फेरिचे, गोरक्सेप, आधारशिविर लगायत क्षेत्रमा अवतरण भएको तथ्यांक छैन ।

सगरमाथा राष्ट्रिय निकुञ्ज सोलुखुम्बुको खुम्बु पासङल्हमु गाउँपालिकामा रहेकाे छ । जसलाई सगरमाथा, ल्होत्से, नुप्त्से, चोयु, आमादब्लम जस्ता हिमालहरूले ओगटेको छ । यसको क्षेत्रफल १ हजार १ सय ४८ वर्ग किलो मिटर छ ।

सन् १९७६ मा स्थापना गरिएको यस निकुञ्ज क्षेत्रलाई सन १९७९ देखि विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ । निकुञ्जमा कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारल जस्ता वन्यजन्तुहरूका साथै डाँफे, चिलिमे, कालिज, हिम कुखुरा, लालचुच्चे काग र पहेंलो चुच्चे काग लगायत १ सय ९३ प्रजातिका चराहरु छन् ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया