कतारको मर्करी मीना कम्पनीबाट तलब नलिई फर्किएलाई सात दिनभित्र कागजातसहित सम्पर्क गर्न विभागको अनुरोध

 माघ २२, २०७६ बुधबार १३:५६:३७ | उज्यालो सहकर्मी

काठमाण्डौ – कतारको मर्करी मीना इलेक्ट्रोमेकानिकल कम्पनीबाट तलब नपाई फर्किएका श्रमिकलाई बाँकी तलब लिनको लागि सात दिनभित्र सम्पर्क गर्न वैदेशिक रोजगार विभागले अनुरोध गरिएको छ ।

कम्पनीबाट ३ देखि ६ महिनाको तलब नपाई फर्केका ३३ जना श्रमिकलाई नेपालमा रहेको कतारी दूतावासको संयोजनमा बाँकी रकम उपलब्ध गराइने भएकाले आवश्यक कागजातसहित सम्पर्क गर्न विभागले भनेको हो । 

विभागका अनुसार तलब लिन बाँकी रहेका ३३ जना श्रमिकले बैंक खाता विवरण, नेपाली नागरिकता र पासपोर्टको प्रतिलिपिसहित विभागमा निवेदन दिनुपर्छ । 

निवेदन काठमाण्डौको बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागको कार्यालयका साथै श्रम तथा रोजगार कार्यालयहरु विराटनगर, जनकपृुर, बुटवल, पोखरा, सुर्खेत र धनगढीमा पनि दिन सकिने विभागले जनाएको छ । विदेशमा हुने श्रमिकको हकमा भने नजिकका हकदारले प्रमाणसहित निवेदन दिन सकिने विभागका सुचना अधिकारी भोलानाथ गुरागाईँले बताउनुभयो । 

उनीहरुले काम गरेबापतको ३ देखि ६ महिनासम्मको २ लाख ८५ हजार कतारी रियाल अर्थात झण्डै ८५ लाख रुपैयाँ लिन बाँकी थियो । विभाग र कतारमा रहेको नपाली दूतावासको पहलमा बाँकी रकम दिन कम्पनी सहमत भएको थियो । मर्करी मीना कम्पनी सन् २०१७ मै बन्द भइसकेको भए पनि कतार सरकारको पहलमा श्रमिकले रकम पाउने भएको विभागले जनाएको छ । 

सर्तअनुसारको सेवा, सुविधा र तलब नपाई फर्किएका श्रमिकले एम्नेष्टी इन्टरनेशनल, वैदेशिक रोजगार विभाग र कतारमा रहेको नेपाली दूतावासमा पनि बाँकी रकम पाउँ भन्दै उजुरी दिएका थिए ।

नेपालबाट अल एसिया इन्टरनेशनल प्रालि, राकी इन्टरनेशनल प्रालि, प्याराडाइज इन्टरनेशनल प्रालि, वल्ड भिजन इन्टरनेशनल म्यानपावर  र  स्काइवेज सर्भिस् प्रालिबाट र केही श्रमिक भने व्यक्तिगत पहलमा श्रम स्वीकृति लिएर मर्करी मीना कम्पनीमा गएका थिए ।

सुचना हेर्नुहाेस्

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया