आईसीसी विश्वकप लिग-२ छनाैट : ओमानसँग नेपाल १८ रनले पराजित

 माघ २२, २०७६ बुधबार १६:५८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ओमानविरुद्धको एक दिवसीय क्रिकेटमा नेपाल १८ रनले पराजित भएको छ । आईसीसी विश्वकप लिग २ क्रिकेटमा ओमानले दिएको १९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १७९ रनमा अल आउट भयाे ।

नेपालका लागि शरद भेषावकरले अर्धशतकीय पारी खेलेका थिए । यसैगरी दीपेन्द्रसिंह ऐरीले ३६ रन बनाउँदा लेगस्पिनर सन्दीप लामिछानेले २८ रन जोडे । विकेटकिपर विनोद भण्डारीले २६ रनको योगदान गरे पनि टिमलाई जित दिलाउन सकेनन् ।

सुरुमै ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई गुमाएको नेपालले तेस्रो विकेटको रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो । चौथो विकेटको रुपमा आरिफ शेख र पाँचौँ विकेटको रुपमा रोहितकुमार पौडेल आउट भए । 

यसैगरी छैटौँ विकेटको रुपमा विनोद भण्डारी पेभेलियन फर्किदा सातौँ विकेटको रुपमा करण केसी र आठौँ विकेटको रुपमा शरद भेषावकर आउट भए । नवौँ विकेटको रुपमा सन्दीप लामिछाने आउट भए भने अन्ति विकेटको रुपमा अविनाश बोहोरा पेभेलियन फर्किएका थिए ।

नेपालका लागि पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल ओपनिङ गर्न आएका थिए । टिमको स्कोर ४ रन हुँदा नेपालका कप्तान मल्ल व्यक्तिगत एक रन बनाएर आउट भएका थिए । १२ बल फेस गरेका मल्लले १ रन बनाएका हुन् । 

चार रनकै स्कोरमा दोस्रो विकेट पनि नेपालले गुमायो । दोस्रो विकेटको रुपमा ३ रन बनाएर पारस खड्का आउट भएका हुन् । पारसले १४ बलमा ३ रन बनाएका हुन् ।

दीपेन्द्र र शरद मिलेर नेपालको स्कोर अघि बढाएका थिए । २०।३ ओभरमा ६६ रन हुँदा दीपेन्द्र आउट भएका हुन् । दीपेन्द्र व्यक्तिगत ३६ रन बनाएर पेभेलियन फर्किए । उनले ५७ बलमा ५ चौका र एक छक्का प्रहार गरे । दीपेन्द्र आउट भएपछि क्रिजमा आएका आरिफ शेख पनि धेरै बेर टिक्न सकेनन् ।

आरिफ ६ रन बनाएर आउट हुँदा नेपालको स्कोर ७३ रन पुगेको थियो । पाँचौँ विकेटको रुपमा नेपालले रोहित पौडेललाई गुमायो । पौडेलले खाता नै नखोली पेभेलियन फर्किए। नेपालका लागि शरद र विनोद भण्डारीले स्कोर अघि बढाउँदै १०० रन कटाएका थिए । तर ३३।१ ओभरमा नेपालले १६६ रनको स्कोरमा नेपालका सेट भइसकेका ब्याट्सम्यान विनोद आउट हुन पुगे । उनी  व्यक्तिगत २६ रनमा आउट भएका हुन् ।

विनोदले २५ बलमा २ चौका र एक छक्का प्रहार गरे । क्रिजमा आएका करण केसी खाता नै नखोली आउट भएपछि नेपालले १२४ रन हुँदा सातौँ विकेट गुमायो । 

शरदले ३८ औँ ओभरमा अर्धशतक पूरा गरे । शरद भेषावकर ५५ रन बनाउँदै आउट भएपछि नेपालले आठौँ विकेट गुमायो । शरद १०८ बल खेल्दै ५५ रन बनाएर आउट भएका हुन् ।

नवौँ विकेटको रुपमा सन्दीप लामिछाने आउट हुन पुगे । २७ बलमा २८ रन बनाउँदै नेपालको आशा कायमै राखेका सन्दीप आउट भएसँगै खेल हेर्न कीर्तिपुर पुगेका दर्शकहरु पनि निराश भएका थिए । सन्दीपले १ छक्का र तीन चौका प्रहार गरेका थिए । अन्तिम विकेटको रुपमा अविनाश बोहोरा आउट हुँदा नेपालको स्कोर १७९ रन रहेको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया