अर्को म्याचमा हाम्रो हार हुँदैन, जित्नका लागि खेलिन्छ : कप्तान मल्ल

 माघ २२, २०७६ बुधबार १८:५८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले अर्को म्याच जित्नका लागि खेल्ने बताएका छन् ।

आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा ओमानसँग १८ रनले पराजित भएपछि कप्तान मल्लले अहिले नै टिका टिप्पणी गर्नुभन्दा पनि अझै खेलहरु बाँकी रहेको बताए । उनले सुरुवात राम्रो गर्न नसकेको र शरदको विकेट पतन भएपछि नेपालको हातबाट खेल टाढिएको पनि बताए ।

कीर्तिपुर मैदानमा पत्रकारसँग कुरा गर्दै मल्लले भने, ‘ शरदको विकेट पतन भएपछि गेम हातबाट टाढा गएको हो । विनोद भण्डारी र शरद भेषावकर खेल्दासम्म नेपालकै पक्षमा थियो । पारस र मसँगै विनोदको विकेट पनि गलत टाइममा गयो । प्रेसरहरु हामी माथि परिरह्यो ।’

नेपाली टिमको ब्याटिङ लाइनअपमा समस्या नयाँ विषय होइन । सुरुका ब्याट्सम्यान चलेपछि मध्य क्रमका खेलाडीले पनि रन बनाउन सक्छन् । तर ओमानविरुद्धको खेलमा कप्तान मल्ल र पारस खड्काको ओपनिङ जोडी चल्न सकेन । त्यसको असर अन्तिमसम्म पनि देखियो । हुन त शरद भेषावकरले अर्धशतक बनाउँदा दीपेन्द्रसिंह ऐरीले ३६ तथा सन्दीप लामिछानेले २८ र विनोद भण्डारीले २६ रनको योगदान गरेका थिए ।

यस विषयमा प्रतिक्रिया दिँदै कप्तान मल्लले भने, ‘स्टार्ट राम्रो भइदिएको भए अरु कुराहरु हुँदैनथ्यो । सिनियर प्लेयर भएकाले पनि हामीले अगाडि राम्रो स्टार्ट गरेको भए गेम पनि राम्रो हुन्थ्यो । आज हामीले सुरुआतमै राम्रो गर्न सकेनौं । जसले गर्दा गेमको मोमेन्टम नै चेन्ज भयो ।’

एउटा म्याचमा टिम पराजित भयो भने यसो गर्नुपर्छ उस्तो गर्नुपर्छ भन्नेहरु जहाँ पनि हुन्छन् । आज ज्ञानेन्द्र र पारस सस्तैमा आउट हुँदा त्यस्ता प्रतिक्रियाहरु पनि आएका छन् ।

कप्तान मल्ललाई के अर्को म्याचमा ब्याटिङ अर्डर चेन्ज हुन्छ त भन्ने जिज्ञासामा उनको जवाफ छ, ‘अर्को म्याचमा ब्याटिङ लाइन अप चेन्ज गर्नुपर्ने खास कारण त म देख्दिन । पारस र म सेट भयौं भने तलसम्म सोँचि रहनु पर्छ जस्तो लाग्दैन । पोजेटिभ तरिकाले लिनु पर्छ । हामी दुई जना सेट हुने भयो आजको जस्तो सिचुयसन आउँछ जस्तो लाग्दैन ।’ 

नेपालका तर्फबाट अबिनाश बोहोरा र सुशन भारीले उत्कृष्ट प्रदर्शन गरे । लेफ्ट आर्म स्पिनर सुशनले तीन विकेट लिँदै नेपाललाई सफलता दिलाएका थिए । डेव्यु गरेका खेलाडीहरुले राम्रो प्रदर्शन गरेको भन्दै  त्यसको कप्तान मल्लले प्रशंसा गरेका छन् ।

‘डेब्यु गरेका खेलाडीहरुले राम्रो प्रदर्शन गरे । सुशन भारीले विकेट अनुसार जस्तो बलिङ गरेकाले बलिङमा उसलाई कमब्याक गरायौं । धेरै पछि लेफ्ट आर्म स्पिनरको रुपमा सुशनले राम्रो पर्दशन गरेको छ । अब सुशनले यो फर्मलाई कत्तिको निरन्तरता दिन सक्छ भन्ने नै हो ।’

ओमान टिमबारे कप्तान मल्लको धारणा यस्तो छ । ‘ओमानको ब्याटिङलाइन अप राम्रो पनि थियो । खास गरि उनीहरुको अनुभवले पनि काम गरेको जस्तो लाग्छ । उनीहरुको अनुभबले नै धेरै काम गरेको हो । अर्को म्याचमा हाम्रो हार हुँदैन । जित्नका लागि खेलिन्छ । आज के भयो भन्दा पनि अब नयाँ गेम कसरी जित्ने भन्न तर्फ सोँच्छौं । हामीले ब्याटिङमा सुधार गर्नुपर्ने छ ।’

अन्तिम अपडेट: बैशाख १२, २०८१

1 Comments

  • Ryan

    Feb. 6, 2020, 8:38 p.m.

    कति सजिलै जितिन्छ भनेको बरु जित्ने प्रयास गर्छु भन्नु नि / बेस्ट अफ लक ! तर होशियार , यु एस ए पनि धेरै बलियो छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया