राजविराज विमानस्थल ठप्प हुन दिन्न : मन्त्री अधिकारी

 जेठ १०, २०७५ बिहिबार २०:१४:५५ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी, जेठ १० – ५९ वर्षको लामो प्रतीक्षापछि ठप्प रहेको राजविराज विमानस्थलको बिहीबार औपचारिक रुपमा समुद्घाटन भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले दशकौंदेखि ठप्प रहेको राजविराज विमानस्थललाई अब कुनै पनि हालतमा सेवा ठप्प हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

राजविराज विमानस्थलको औपचारिक उद्घाटन गर्नुहुँदै उहाँले सरकारले राजविराज विमानस्थललाई विशेष प्राथमिकतामा राखेर पनि नियमित सेवालाई निरन्तरता दिने बताउनुभयो । राजविराज र साँफेबगर विमानस्थललाई विशेष प्राथमिकतामा राखेको बताउँदै मन्त्री अधिकारीले आउँदो असार १ गतेभित्रै राजविराजबाट सेवा नियमित गर्न श्री एयरलाइन्सलाई निर्देशन समेत दिनुभयो ।

अहिलेलाई ५० सीट क्षमता भएको विमान सञ्चालन हुने जानकारी दिँदै उहाँले राजविराज विमानस्थललाई कार्गो हबको रुपमा विकास गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । राजविराज विमानस्थल सञ्चालन भएपछि सप्तरी, सिराहा, उदयपुर, ओखलढुंगा, सुनसरीका साथै भारतबाट पनि पशुपतिनाथ दर्शनका लागि यात्रुहरुलाई आकर्षित गर्न सकिने पर्याप्त सम्भावना रहेको मन्त्री अधिकारीले बताउनुभयो ।

समारोहमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, पूर्व मन्त्री तथा राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देव, पूर्व मन्त्री सत्य नारायण मण्डल, प्रदेशसभा सदस्य एवं राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का महासचिव मनिषकुमार सुमन लगायतले अविलम्ब नियमित उडान हुनुपर्नेमा जोड दिनुभयो ।

२०१६ सालमा तत्कालीन यातायात मन्त्री स्व.गणेशमान सिंहले शिलान्यास गरेको राजविराज विमानस्थलमा एक हजार पाँच सय मिटर लामो तथा ३० मिटर चौडा पक्की धावनमार्ग, ६० मिटर चौडा र ९० मिटर लामो एप्रोन तथा एक सय दश मिटर लामो र २० मिटर चौडा ट्याक्सी वे छन् ।

यसअघि विगत ५९ वर्षदेखि ठप्प रहेको राजविराज विमानस्थलमा बुधवारदेखि परीक्षण उडान गरिएको थियो ।  श्री एयरलाईन्सको ९ एन.ए.एफ.ए नम्बरको विमानमा औपचारिक उद्घाटन हुनु एक दिनअघि बुधवार परीक्षण उडान भएको थियो । प्रशिक्षक चालक प्रज्वलन अधिकारीको नेतृत्वमा रहेको ७ जनाको टोलीले काठमाण्डौबाट विराटनगर हुँदै राजविराज विमानस्थलमा सफल अवतरण गरेको थियो ।

परीक्षण उडानका क्रममा विमानस्थलको स्थलगत अवलोकन गर्नुका साथै हवाइमार्गबाट समेत विमानस्थल आसपास क्षेत्रको निरीक्षण गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण राजविराज विमानस्थलका परियोजना प्रमुख रामएकवाल महतोले जानकारी दिनुभयो ।

२०७३ मंसिर ८ गते कान्छाराम, रमण र देव एण्ड शायर जेभी कम्पनीले कुल ३० करोड ३० लाख ७४ हजार ५ सय २८ रुपैयाँमा सम्झौता गरी विमानस्थलको निर्माण कार्य सुरु गरेको थियो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया