बर्थिङ सेन्टरमा ताला : गर्भवती महिलाहरु जोखिममा, सरोकारवाला बेखबर

 माघ २५, २०७६ शनिबार १४:१७:२० | डीबी बिष्ट
unn.prixa.net

बझाङ - खप्तडछान्ना गाँउपालिका-६ को बयाना र बडाकोट गाँउमा रहेको बर्थिङ सेन्टर तीन महिनादेखि बन्द छ ।

बर्थिङ सेन्टर बनाउनका लागि जग्गा दान गरेका स्थानीय झुरु थापाले ताला लगाएपछि बर्थिङ सेन्टर बन्द भएको हो । आफ्नो मान्छे कर्मचारी (कार्यालय सहयोगी) नराखेको भन्दै थापाले बर्थिङ सेन्टरमा ताला लगाउनुभएकाे हाे । जग्गा दान गर्दा आफ्नो मान्छे कर्मचारी राख्ने सहमतिमा आफूले जग्गादान गरेको थापाकाे दावी छ ।

बर्थिङ सेन्टर निर्माण भएर सञ्चालनमा आउँदासमेत आफूलाई केही जानकारी नभएकाले बाध्य भएर ताला लगाएको उहाँले बताउनुभयाे । गाँउपालिकाका अध्यक्ष वर्क बहादुर रोकायाले भने कार्यालय सहयोगी राख्दा सात दिने सार्वजनिक सूचना जारी गरेको बताउनुभयाे । ‘निष्पक्ष तरिकाले कर्मचारी राखेको हो’, अध्यक्ष रोकायाले भन्नुभयाे, ‘थापाका परिवारका सदस्यले निवेदनसम्म नदिएकाले घरमै गएर कर्मचारी बनाउन सकिएन ।’

कर्मचारी राख्ने सहमतिबारे आफूलाई थाहा नभएको र पटक–पटक ताला खोल्न आग्रह गर्दासमेत नमानेका कारण जिल्ला प्रशासनमा जानकारी गराएको वडा नम्बर ६ का वडा अध्यक्ष तिलक कुमार खड्काले बताउनुभयाे ।

उद्घाटन गर्दा र औषधि खरिद गरेर राख्दा जम्मा दुई दिन मात्रै बर्थिङ सेन्टर खुलेको महिला सदस्य कृष्णा देवी थापाले जानकारी दिनुभयाे । गाउँमै रहेको बर्थिङ सेन्टरमा ताला लाग्दा सुत्केरी हुनकै लागि यहाँका महिला २/३ घण्टा हिँडेर पाटादेवल स्वास्थ्य चौकी पुग्न बाध्य छन् । कति महिलाहरु भने घरमा नै असुरक्षित रुपमा सुत्केरी हुने गरेका छन् ।

गएकाे पुसमा सुत्केरी बेथा लागेकी कल्पना थामी पाटादेवल स्वास्थ्य चौकी पुग्नुभयाे तर त्यसदिन शनिबार भएका कारण नर्स घर गएकाले स्वास्थ्य चौकीको शाैचालयमै बच्चा जन्माउनु पर्‍याे । यस्तै, २०७५ पुसमा बडाकोटकी ३६ वर्षीया उजली देवी थापालाई सुत्केरी गराउन पाटादेवल स्वास्थ्य चौकी लानेक्रममा बाटोमा नै मृत्यु भएको थियो ।

बर्थिङ सेन्टर बनेपछि खुशी भएका गाउँलेहरु लामो समय ताल्चा लाग्दा पनि सरोकारवालाले चासो नदेखाएका कारण निराश भएका छन् । बर्थिङ सेन्टरमा रहेका औषधिसमेत काम नलाग्ने अवस्थामा पुगेको छ । तत्कालीन पाटादेवल गाविसबाट दुई लाख ३१ हजार र गाँउपालिकाको १० लाख गरी जम्मा १२ लाख ३१ हजारमा बर्थिङ सेन्टर निर्माण गरिएको वडा अध्यक्ष खड्काले बताउनुभयाे । 

अन्तिम अपडेट: चैत १५, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया