अब इन्टरनेटबाटै पत्रकारिता सिक्न पाइने

 माघ २५, २०७६ शनिबार १९:१५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्टरनेटमार्फत पत्रकारिता सिक्ने, सिकाउने र पढाउनेगरी नेपाल रेडियो ल्यावको सुरुवात भएको छ ।

एन्टेना फाउण्डेशन नेपालको पहलमा शुरु भएको नेपाल रेडियो ल्यावमा पत्रकारिता गर्न चाहने र गरिरहेका तर राम्रो तालिम र सिकाइको अभावमा अल्मलिएकाहरुका लागि बिभिन्न तालिम तथा पाठ्यसामग्रीहरु उपलब्ध छन् ।

एन्टेना फाउण्डेशनका कार्यकारी निर्देशक विनयशेखर गुरागाईका अनुसार नेपाल रेडियो ल्यावमा श्रब्यदृष्य, खेल तथा मनोरञ्जनरात्मक र अन्तरक्रियात्मक ढंगले पढ्ने र पढाउने सुबिधा सहित तालिम तथा सिकाई सामग्रीहरु उपलब्ध रहेका छन । ती तालिम सामग्रीहरुमा आधारित रहेर विज्ञ प्रशिक्षकहरुबाट सशुल्क र निःशुल्क रुपमा सिक्न र सिकाउन सकिन्छ ।

एन्टेना फाउण्डेशन नेपालका कार्यक्रम संयोजक संघर्ष पन्तका अनुसार रेडियोमा काम गर्ने रेडियोकर्मी, आमसञ्चार तथा पत्रकारिताका बिद्यार्थी र पत्रकारिता गरिरहेका तर सीपको अभावमा अलमलिएकाहरुका लागि सस्तो, छिटो र प्रभावकारी रुपमा सिक्ने र सिकाउने लक्षले नेपाल रेडियो ल्याव शुरु भएको हो । 

रेडियो ल्याबको शुभारम्भ कार्यक्रममा नेपाल खुला विश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर लेखनाथ शर्माले नेपालमा अनलाइन अर्थात इन्टरनेटको माध्यमबाट औपचारिक शिक्षा लिने र दिने कार्य चुनौतीपूर्ण रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल खुला विश्व विद्यालयले बिगत केही वर्षदेखि इन्टरनेटकै मार्फत पढाइरहेको भए पनि इन्टरनेटको सहज पहुँच, बिद्यार्थीको लगनशीलता, समय तथा दूर र खुल्ला शिक्षाको बारेमा बुझाइको कमीजस्ता कारणले अनलाइनमा आधारित दुरशिक्षा कार्यक्रम सोचेजति प्रभावकारी हुन सकेको छैन ।’

कार्यक्रममा पत्रकार राजेन्द्र दाहालले पत्रकारले सिक्नुपर्ने कुरा धेरै छन् तर सिकाई कमजोर भइरहेको बताउनुभयो ।

दाहालले भन्नुभयो, ‘इन्टरनेट मार्फत सिक्ने र सिकाउने संरचनाहरु र भौतिक पुर्वाधार उपलब्ध भए पनि पत्रकारहरुमा सिकाइको भोक जगाउन नसकिएकोले किन सिक्ने र कसरी सिकाइने भन्ने बारेमा नयाँ शैलीका सिकाई कार्यक्रमहरु प्रभावकारी रुपमा अगाडि आउनुपर्छ जसले गर्दा पत्रकारको व्यवसायिक दक्षता बढाउन सहयोग पुग्नेछ ।’  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया