काङ्ग्रेसद्वारा प्रदेश १ सभा अवरुद्ध : एउटै प्रकृतिकाे मुद्दामा 'कसैलाई काखा, कसैलाई पाखा गर्न पाइँदैन'

 माघ २६, २०७६ आइतबार १७:१७:४४ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - नेपाली काङ्ग्रेसले प्रदेश १ को प्रदेश सभाकाे बैठक अवरुद्ध गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली काङ्ग्रेसका नेता विजयकुमार गच्छदारविरुद्ध दर्ता गरेको भ्रष्टाचार अभियोगको विराेधमा संसद अवरुद्ध गरेको हो ।  

सदन सुरु भएलगत्तै नेपाली काङ्ग्रेसले उठेर सदन अवरुद्ध गरेको थियो । सभामुख प्रदीपकुमार भण्डारीले पटक-पटक सदन सुुरु गर्न आग्रह गरे पनि काङ्ग्रेसले सदन अगाडि बढ्न दिएन। 

विचार र आस्थाको आधारमा गच्छदारमाथि मुद्दा दायर गरेको आरोप लगाउँदै सरकारलाई ज्ञानेन्द्रको हालतमा पुर्‍याउने चेतावनी दिनुभएको छ । नेपाली काङ्ग्रेसका सचेतक सुयर्माराज राईले पूर्व राजा ज्ञानेन्द्र शाहलाई जनताले नै नागार्जुन पुर्‍याएकाे स्मरण गराउँदै सरकार नसच्चिए शाहकै हालतमा पुर्‍याउने चेतावनी दिनुभएकाे छ ।

राईले कसैलाई मुद्दा चलाउने कसैलाई मुद्दा नचलाउने गर्न नपाइने बताउनुभएको छ । ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधव नेपाल, बाबुराम भट्टराई पूर्व मुख्य सचिव लिलामणि पौडेल, नेकपाका महासचिव विष्णु पौडेल र न्यायाधीश कुमार रेग्मीलाई समेत कारबाहीको दायरामा ल्याउन राईले माग गर्नुभयाे । 

एउटै प्रकृतिको मुद्दामा अख्तियारले कसैलाई काखा र कसैलाई पाखा गरेर राजनीतिक निर्णय गरेकाले आफूहरु विरोधमा उत्रिएको उहाँले बताउनुभयो । काङ्ग्रेसले अवरुद्ध गरेपछि प्रदेश सभाको बैठक सोमबार दिउँसो २ बजेसम्मको लागि स्थगित भएको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया