घरजग्गा अर्काको नाममा पास गराउन दलाल सक्रिय, धेरैको बिल्लिबाठ

 माघ २७, २०७६ सोमबार २०:२३:३९ | सुमन तिमल्सिना
unn.prixa.net

प्रतिकात्मक तस्बिर

माेरङ – बेलबारी नगरपालिका ४ का हिरालाल विश्वकर्माका बुवा सिकिस्त बिरामी हुनुभयाे । चिनेजानेकै महेन्द्र तामाङ सम्पर्कमा आए । उनले उपाय निकालिदिए जग्गा धितो राखेर ऋण लिने । 

महेन्द्रले हिरालाललाई जग्गा धितो राखेर पैसा ऋण दिने मान्छे मिलाए बापतको कमिसन मागे । अप्ठेरो परेको बेला त्यस्तो कुरा आएपछि उनले सहजै स्वीकार गरे ।

त्यसपछि सम्पर्कमा आए ओखलढुङ्गा स्थायी घर भइ सुनसरी इटहरीमा बस्दै आएका पशुपति राई । हिरालालले आफू बस्दै गरेको घर र दुई कठ्ठा १० धुर जग्गा तीन लाख रुपैयाँमा पशुपति राईकी श्रीमती भेषकुमारी राईकाे नाममा मालपोत कार्यालय बेलबारीमा राजिस्ट्रेशन पास गरिदिए । 

हिरालालले घरजग्गा धितोको नाममा रजिस्ट्रेशन पास गर्नुअघि तीन लाख रुपैयाँ ऋण लिएको र तीन वर्षभित्र ११ प्रतिशतको दरले ब्याजसहित रकम फिर्ता गर्ने र जग्गा फिर्ता हुने कागज गरे । त्यो कागज गरेको चार वर्ष बितेको छ ।

तीन  लाख रुपैयाँको कागज गरेर घर जग्गा पास गरिदिए पनि हिरालालले दुई लाख ७० हजार रुपैयाँमात्रै पाए । ३० हजार रुपैयाँ उनले कमिसन बापतको रकम महेन्द्र तामाङ र अब्दुल राइनलाई बुझाए । 

तीन वर्षमा तीन लाख रुपैयाँ ब्याजसहित फिर्ता गर्ने कागजअनुसार तीन वर्षपछि पैसा लिएर पशुपति राईकोमा हिरालाल गए तर पशुपतिले आज/भोलि भन्दै जग्गा फिर्ता गरेनन् । 

दुई वर्षपछि धरानमा रहेकाे प्राइम बैंकको शाखा कार्यालयले घरजग्गा लिलामी भएको र घरबाट हट्न भन्दै पत्र पठाएपछि हिरालालको परिवारले बल्ल थाहा पायो । पशुपतिले त्यो धरजग्गा बैंकमा धितो राखेर १५ लाख ऋण लिएको र ब्याजसहितको रकम नतिरेपछि बैंकले लिलामको सूचना गरिसकेको रहेछ । 

धुरकै डेढ लाख रुपैयाँभन्दा बढी पर्ने जग्गाको अहिले १५ लाखको सावाँ र  ब्याज तिर्छु भन्दा पनि हिरालालको परिवारले जग्गा उकास्न सकेको छैन ।

यो त एउटा उदाहरण मात्र हो । धितोको नाममा हुने राजीनामा पास बेलबारी नगरपालिकामा ठूलो समस्याको रुपमा देखिएको छ । एक व्यक्तिलाई धितोको नाममा गरिएको राजीनामा पास गर्ने क्रम धेरै व्यक्तिसम्म पुग्न थालेपछि यो समस्या विकराल बनेको हो । 

यसबाट धेरै सङ्ख्यामा सर्वसाधारण प्रभावित भएका छन् । यसलाई तत्कालीन र दीर्घकालीन रुपमा समाधान खोजिने सरोकारवालाको भनाइ छ । संवाद समूहले आयोजना गरेको अन्तर्क्रियामा बैंङ्किङ कारोबारलाई सहज नबनाउँदा यो समस्याको रुपमा बढ्दै रहेको औँल्याइएको छ । यसको समाधानको लागि तत्काल पहल थालिनुपर्ने संवादमा सहभागीहरुको भनाइ छ । 

बेलबारी नगरपालिकाका उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, बैंकका म्यानेजर तथा प्रहरी, नापी र मालपोत कार्यालयका प्रमुखहरुका बीच भएको संवादमा धितो कारोबारको नाममा हुने राजीनामा पासको समस्या समाधानका लागि बैंकको तर्फबाट धितो पास गर्दा आउने समस्याको बारेमा बैंकहरुले सचेतना दिन वित्तीय साक्षरता अभियान तल्लो तहसम्म पुर्‍याउने जनाएका छन्  । 

राजीनामा, दृष्टि बन्धकलगायतका कानुनी प्रक्रियाको बारेमा नागरिकलाई बुझाउन नसक्दा उनीहरुको जायजेथा अरुको नाममा पुग्ने गरेको पाइएको छ । तसर्थ यस बारेमा सर्वसाधारणलाई बुझाउने र साक्षी वा उसको घर परिवारका व्यक्तिहरु झिकाएर थप सोधखोज गर्न मालपोत कार्यालयले पनि पहल थाल्ने संवादबाट निष्कर्ष निस्किएको छ । 

जनचेतना जगाउने काम वडा तहदेखि सञ्चालन गर्ने गरी काम थाल्ने तयारी भएको छ । जनप्रतिनिधिले सिफारिस दिने बेलामा नै कडाइ गर्ने र यसलाई राजनीतिक दलहरुले सहयोग गर्ने छलफलबाट निष्कर्ष निस्किएको छ ।

नगरपालिकाको तर्फबाट वित्तीय साक्षरता अभियान हरेक वडामा सञ्चालन गर्ने र  धितो कारोबार निरुत्साहित गर्ने फ्लेक्सहरु टाँस्ने नगरपालिकाले जनाएको छ । तर दीर्घकालीन रुपमा समस्या समाधानका लागि तहगत रुपमा सरकारहरुले नीति बनाएर आम नागरिकको जीवनस्तर सुधार गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा सहभागीहरुको जोड थियो । 

नगरपालिकाकी कानुन शाखा प्रमुख तारा भट्टराईले धितो कारोबारका नाममा राजीनामा पास गरेर ठगीमा पर्नेहरुको सङ्ख्या बढ्दै गएको बताउनुभयो ।

नगरपालिकामा १० वटा मुद्दा दर्ता भइसकेको भट्टराईले जानकारी दिनुभयो । धितोको नाममा पहिला एउटा कागज गर्ने अनि अर्काको नाममा राजीनामा पास गरेपछि कानुनी रुपमा त्यो सम्पत्तिमाथि उसको कुनै स्वामित्व नै नखुलेपछि त्यही सम्पत्ति एकपछि अर्को गर्दै धेरै व्यक्तिमा पुग्ने गरेको भट्टराईले बताउनुभयो ।

यसरी धितोको नाममा राजीनामा पास गराउनको लागि गिरोह नै सक्रिय रहेको स्थानीय व्यवसायीहरु बताउँछन् । व्यवसायी राजेश कार्की महिनाको २० हजार रुपैयाँ आम्दानी गर्ने व्यक्तिलाई बैंकले ऋण नपत्याउँदा धितो पास समस्याको रुपमा देखिएको बताउनुहुन्छ । यस्तो अवस्थामा धितो कारोबार गर्ने पाँच जनालाई कारबाही गर्न सक्यो भने मात्र पनि बेलवारीको समस्या समाधान हुने उहाँकाे दाबी छ ।  

समाजवादी पार्टीका तिलक राईले धितो कारोबारको बिगबिगी रहेको स्वीकार्नु भयाे । सम्पन्न व्यक्तिहरु पनि ५/१० प्रतिशतको लालचमा लाग्ने गरेको उहाँको बुझाइ छ । धितोको नाममा हुने राजीनामा पाससम्बन्धी समस्या समाधान गर्नको लागि पालिकाले नै अग्रसरता देखाउनुपर्ने उहाँको भनाइ छ । 

बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप साहले धितोको नाममा हुने राजीनामा पास दुई तिहाइले बढ्दै गएको सुनाउनुभयो ।

नगरपालिकाकी उपमेयर ढाका पराजुलीले नगरपालिकाभित्र समस्या रहँदा पनि त्यसको समाधानका लागि प्रहरीबाट सहयोग नभएको बताउनुभयो । इलाका प्रहरी कार्यालयको लापर्वाहीका कारण पनि समस्या थप बल्झिएको उहाँको आरोप छ । ‘इलाका प्रहरी कार्यालयले सहयोग गरेको छैन,’ उहाँले भन्नुभयो, ‘प्रहरीले सहयोग नगर्दा पीडितहरु थप पिडामा पर्ने गरेका छन् ।’ 

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) गुणराज बुढाथोकीले लेनदेनको विषय प्रहरीको प्राथमितामा नपर्ने बताउनुभयो । ‘अहिले आएका धितोसँग सम्बन्धित विषय प्रहरीसँग सम्बन्धित छैनन्', उहाँले भन्नुभयो, ‘यो लेनदेनको कुरा भएकोले प्राथमिकतामा पर्दैन ।’

प्रहरी निरीक्षक बुढाथोकीले राजीनामा र दृष्टि बन्धकलगायतको बारेमा नागरिकलाई बुझाउन सक्नुपर्ने बताउनुभयो । तर उहाँले लेनदेनमा ठगी भएको कागज पुगेको अवस्थामा भने मुद्दा चलाउन सकिने उल्लेख गर्नुभयो । 

मालपोत अधिकृत गणेश खड्काले अहिले पनि राजीनामा पास गर्न आउने व्यक्तिबारे दुईस्तरमा अनुसन्धान हुने गरेको जानकारी दिनुभयो । राजीनामा पास गर्न आउनेहरुको हकमा रकम लिए/नलिएको बारेमा सोध्ने गरिएको उहाँले सुनाउनुभयो ।

‘धितोको नाममा थोरै रकमको लागि आफ्नो स्वामित्व अरुको नाममा नै गइसकेको अवस्थामा शर्तको कागजको महत्व छैन,’ अधिकृत खड्काले भन्नुभयो, ‘पास गरेर दिएको जग्गा फेरि मेरो हो भन्ने अधिकार नहुने भएकोले सर्वसाधारणको बाध्यतामा खेल्ने काम भएको छ ।’ बाध्यतामा जे पनि स्वीकार गर्ने परम्पराले निकै अप्ठेरो पारेको पछिल्ला घटनाहरुबाट देखिएको छ ।  

बेलबारी नगरपालिका ५ का अध्यक्ष विश्वबन्धु बस्नेतले यो समस्या बेलबारी नगरपालिकामा ५० प्रतिशतसम्म पाइएको जानकारी दिनुभयो । धितो भनेको दृष्टि बन्धक गर्नुपर्ने हो तर त्यही धितोको नाममा जग्गा नै राजीनामा पास गर्ने काम भएकोले अहिले धेरै सर्वसाधारण पीडित बनेको उहाँले जानकारी दिनुभयो । 

वडाध्यक्ष यामबहादुर पोखरेलले लगानी गराउनको लागि एजेण्टहरु गाउँ गाउँमा रहेको बताउनुभयो । कमिसनको लोभमा गाउँका सर्वसाधारणको जग्गा थोरै रकममा आफ्नो नाउँमा ल्याउने अनि त्यही जग्गा बैंकमा धितो राखेर बढी रकम लिने क्रम दशौँ जनासम्म पुग्दा पनि धनीलाई थाहा नहुने गरेपछि यो समस्याको रुपमा आएको हो । यस्तो समस्यामा महिलाहरु बढी परेका छन् । यकिन तथ्याङ्क नभए पनि यस्तो समस्या लिएर चार सय बढी पीडित बेलबारी नगरपालिकाको न्यायिक समितिमा आएका छन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया