आर्मीकाे जित, उपाधि जित्ने सम्भावना कायमै

 माघ २८, २०७६ मंगलबार ११:११:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब उपाधि नजिक पुगेको छ । 

ब्रिगेड ब्वाइज क्लबलाई तीन–शून्यले हराउँदै आर्मीले उपाधिको सम्भावना बलियो बनाएको हो । सातदोबाटोमा भएको खेलमा आर्मीलाई जित दिलाउनका लागि भरत खवास, विकास तामाङ र टेकबहादुर बुढाथोकीले एक–एक गोल गरे । 

लिगको अन्तिम खेलमा आर्मीले मच्छिन्द्र क्लबको सामना गर्नेछ । मच्छिन्द्रविरुद्धकाे खेलमा बराबरीमा रोकेमात्र पनि आर्मी पहिलो पटक ए डिभिजन लिगमा च्याम्पियन बन्नेछ । मच्छिन्द्रलाई भने तीन अङ्क अनिवार्य छ ।

लिग तालिकामा आर्मीले २९ अङ्क बनाएको छ भने मच्छिन्द्रकाे २८ अङ्क छ । 

मच्छिन्द्रविरुद्धकाे खेलको पाँचौँ मिनेटमा भरत खवासले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । याे गाेलसँगै उनले ए डिभिजन लिगमा ५०औँ गाेल पूरा गरेका छन् ।

पहिलो हाफमा एक गोलको अग्रता लिएको आर्मीका लागि ५३औँ मिनेटमा विकास तामाङले गोल गरे । ७०औँ मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई महत्वपूर्ण जित दिलाए ।

ब्रिगेड ब्वाइज क्लब भने आठ अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ । मङ्गलबार नै थ्री स्टार क्लब र एनआरटी तथा नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लब पनि प्रतिस्पर्धा गर्दैछन् ।

थ्री स्टार र एनआरटीबीचको खेल सवा १२ बजे हुनेछ भने अर्को खेल साढे तीन बजे हुनेछ । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया