भारतले ब्यहाेर्‍याे एक दिवसीय क्रिकेटमा ३० वर्षपछि ‘व्हाइटवाश’ : श्रृङ्खला तीन-शून्यले न्युजिल्याण्डकाे पाेल्टामा

 माघ २८, २०७६ मंगलबार १६:२४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

कोलिन ग्रान्डहोमले सातौँ नम्बरमा आएर विष्फोटक अर्धशतक प्रहार गरेपछि तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा न्युजिल्यान्डले भारतलाई ५ विकेटले पराजित गरेको छ ।

भारतले दिएको २९७ रनको लक्ष्य न्युजिल्यान्डले ४७।१ ओभरमा पूरा गर्दै तीन खेलको शृङ्खला घरेलु टोली न्युजिल्यान्डले व्हाइटवाश गरेको छ ।

माउन्ट मोउनगानुइको बेय ओभलमा २९७ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डका लागि सातौँ नम्बरमा आएका ग्रान्डहोमले २८ बलमा ६ चौका र ३ छक्कासहित अविजित ५८ रनको पारी खेले । उनीसँगै टम लाथम पनि ३२ रनमा अविजित रहे ।

ओपनर मार्टिन गप्टिल र हेनरी निकोल्सले १०६ रनको साझेदारी गरी न्युजिल्यान्डको जवाफी पारीमा बलियो सुरुआत दिलाएका थिए ।

४६ बलमा चौका र ४ छक्कासहित ६६ रन बनाएर गप्टिल आउट भएपछि आएका कप्तान केन विलियमसनसँग मिलेर निकोल्सले दोस्रो विकेटका लागि ५३ रनको साझेदारी गरेका थिए ।

विलियम्सन २२ रनको स्कोरमा आउट भए । त्यसपछि आएका रस टेलरले पनि १२ रनमात्र जोड्न सके । ३२।५ ओभरमा हेनरी निकोल्स ८० रन बनाएर आउट हुँदा न्युजिल्यान्ड १८९/४ को स्थितिमा थियो । ३९।३ ओभरमा जेम्स निसम पाँचौं विकेटका रुपमा १९ रनको स्कोरमा आउट भएपछि ग्रान्डहोम क्रिजमा आएका थिए ।

भारतका युज्बेन्द्र चाहलले ३ विकेट लिए । शार्दुल ठाकुर र रविन्द्र जडेजाले १-१ विकेट बाँडे । निकोल्स खेलको म्यान अफ द म्याच तथा एक शतक र एक अर्धशतक प्रहार गरेका न्युजिल्यान्डका रस टेलर म्यान अफ द सिरिज चुनिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ७ विकेट गुमाएर २९६ रनको योगफल खडा गरेको थियो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया