दिल्ली विधानसभा चुनाव : जितपछि केजरीवालले हनुमानलाई दिनुभयो धन्यवाद, मतदातालाई भन्नुभयो- आइ लभ यू

 माघ २८, २०७६ मंगलबार १८:४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतको दिल्ली विधानसभा निर्वाचनमा मुख्यमन्त्री अरविन्द केजरीवालको आमआदमी पार्टी भारी बहुमततर्फ अग्रसर भएको छ । मंगलबार बिहान ९ बजेदेखि जारी मतगणनाको पछिल्लो रुझानअनुसार ७० विधानसभा सिटमध्ये केजरीवालको पार्टीले ६३ सिट जित्ने लगभग पक्का छ । 

यस्तै भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले ७ सिटमा चित्त बुझाउनुपर्नेभएकाे छ । 
भाजपा नेता एवं गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायत भाजपाका दर्जनौँ ठूला नेताले चुनाव प्रचारमा हप्तौँ खर्चिए पनि भाजपाले सोचेजस्तो सफलता हात पार्न सकेन । अघिल्लाे वर्षको मे मा सम्पन्न पछिल्लो लोकसभा निर्वाचनमा भाजपाले भने दिल्ली प्रान्तका ७ वटै सिट जितेको थियो ।     
यस्तै ६ वर्षअघिसम्म तीन पटक लगातार दिल्लीमा शासन गरेको भारतीय कांग्रेस पार्टीले पछिल्लो निर्वाचनजस्तै यस पटक समेत एक सिट पनि जित्ने छाँटकाँट छैन । 

विधानसभामा दुई तिहाइभन्दा पनि ठूलो जित सुनिश्चित भएपछि पार्टी कार्यालयमा आज दिउँसो आयोजित कार्यक्रममा मुख्यमन्त्री केजरीवालले दिल्लीका जनतालाई धन्यवाद मात्र भन्नुभएन । आफ्नो पक्षमा मतदान गरेकोमा उहाँले मतदातालाई ‘आइ लभ यु’ पनि भन्नुभयो । 

साथै हनुमानले दिल्लीमाथि कृपा वर्षाएको भन्दै भगवान हनुमानलाई पनि धन्यवाद दिनुभयो ।  चुनाव प्रचारको बेला भाजपाले केजरीवाल हिन्दु धर्मविरोधी भएको प्रचार गर्न थालेपछि मुख्यमन्त्री केजरीवालले हनुमान चालिसाको पाठ मात्रै गर्नुभएन । उहाँले मन्दिर मन्दिर गएर पूजापाठ समेत गर्नुभएको थियो । साथै उहाँ र उहाँका पार्टीका नेताहरुले प्रचारप्रसारको क्रममा भाजपाका नेताहरुजस्तै ‘जय श्रीराम’ र ‘जय हनुमान’ को नारासमेत लगाउनुभएको थियो । 

यसरी केजरीवाल र उहाँका नेताहरुले विकास निर्माणमा आफूहरु अगाडि रहेजस्तै हिन्दु धर्मप्रति आस्था प्रकट गर्न भाजपाभन्दा पनि अगाडि रहेको प्रमाण जनतासमक्ष प्रस्तुत गर्नुभएको थियो । 

केजरीवालको यो जितलाई भारतीय विश्लेषकहरुले भाजपाको धर्म, जात र घृणाको राजनीतिमाथि आमआदमी पार्टीको विकास निर्माणको विजय भएको बताएका छन् ।       

यसअघि सन् २०१५ को विधानसभा निर्वाचनमा केजरीवालको पार्टीले ६७ सिट जितेर केजरीवाल दोस्रो पटक मुख्यमन्त्री बन्नुभएको थियो । त्यसबेला भाजपाले ३ सिट मात्रै जितेको थियो । त्यसअघिको निर्वाचनमा २८ सिट जितेर केजरीवालले अल्पमत सरकारको नेतृत्व गर्दै पहिलो पटक मुख्यमन्त्री बन्नुभएको थियो ।    
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया