जावलाखेल र हिमालयनले अङ्क बाँडे

 फागुन १, २०७६ बिहिबार ७:३६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार भएकाे खेलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पाले बराबरी खेलेका छन् ।

जावलाखेल र हिमालयनले तीन–तीन गाेलकाे बराबरी खेलेका हुन् । सातदोबाटोकाे एन्फा मैदानमा भएको खेलमा जावलाखेलले हिमालयनकाे दुई गोलको अग्रता उल्ट्याउँदै अङ्क बराबरी गरेको हो ।

'हाइस्कोरिङ' खेलको पाँचौ मिनेटमा नै स्टेफेन समिरले गोल गर्दै शेर्पालाई अग्रता दिलाए । त्यसपछि २६औँ मिनेटमा विजय श्रेष्ठले हिमालयनकाे अन्तर दुई–शून्यमा पुर्‍याए । 

दुई गोलले पछि परेको अवस्थामा जावलाखेल ३५औँ मिनेटमा १० खेलाडीमा सीमित हुन पुग्यो । जावलाखेलका अरुन ब्लोन रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए ।

तर पहिलो हाफको इन्जुरी समयमा जावलाखेलका कुबेर विष्टले गाेल गरे । फेरि त्यसको दुई मिनेटपछि हिमालयनका स्टेफेन समिरले गोल गर्दै पहिलो हाफमा टिमलाई तीन–एकले अगाडि राखे ।

गोलको वर्षा भएको खेलको ६०औँ मिनेटमा फेडे फोफानाले गोल गर्दै जावलाखेललाई तीन–दुईको अवस्थामा पुर्‍याए । ६८औँ मिनेटमा हिमालयन पनि १० खेलाडीमा झर्न पुग्याे । हिमालयनका निरज बस्नेत दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिए ।

त्यसको एक मिनेटपछि रुपबहादुर लामाको गोलमा जावलाखेलले खेल तीन–तीनको अवस्थामा पुर्‍यायाे । त्यसपछि दुवै टिमबाट थप गोल भएन र दुवैले एक–एक अङ्क बाँडे । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया