ताप्लेजुङमा बनिरहेकाे कोशी करिडोर सबस्टेशनको काम १० प्रतिशत मात्र सम्पन्न

 फागुन ३, २०७६ शनिबार १७:१९:३ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - मैवाखोला गाउँपालिका वडा नं १ ढुङ्गेसाँघु ताप्लेजुङमा निर्माण भइरहेको २२० केभीए क्षमताको कोशी करिडोर विद्युत सबस्टेशनको काम १० प्रतिशत मात्र पूरा भएको छ ।

निर्माण कार्य सुरु भएको एक वर्षको अवधिमा १० प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनी केईसी इन्टरनेश्नलले जनाएको छ । जिल्लाका विभिन्न ठाउँबाट उत्पादन भएका बिजुलीलाई एकीकृत गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि कोशी करिडोर विद्युत सबस्टेशनको निर्माण भइरहेको हो ।

कोशी करिडोर मार्फत विद्युत सबस्टेशन निर्माणका लागि कम्पनीका तर्फबाट खटिएका साइट इञ्चार्ज राजित मियाँले भवन निर्माण, अर्थ कटिङ, फिलिङ, ट्रान्सफर्मर राख्ने केन्द्रको व्यवस्थापनजस्ता काम भइरहेको बताउनुभयो ।

स्थानीय जनशक्तिसमेत परिचालन गरेर २०२० को डिसेम्बर भित्रै नेपाल प्राधिकरणको सम्झैता अनुसार कोशी करीडोर विद्युत सबस्टेशनको निर्माण कार्य पूरा गर्नुपर्ने सम्झाैता रहेकाे छ । 

झण्डै २ सय रोपनी क्षेत्रफलमा फैलिएको यो सबस्टेशन निर्माणको कुल लागत २० मिलियन डलर अर्थात झण्डै २ अर्ब ८४ करोड नेपाली रुपैयाँ हाे । 

ठेक्का सम्झाैता अनुसार तेह्रथुमको बसन्तपुरदेखि अहिले निर्माण भइरहेको कोशी करिडोर सबस्टेसन सम्म लाइन ल्याउनुपर्ने छ । त्यसका लागि अहिले २६ वटा टावर बनाउन खाल्डा खनिसकिएको निर्माण कम्पनीले जनाएकाे छ।  

अहिले निर्माण कम्पनी आफैँले दोभानबाट ढुङ्गेसाँघुको तेल्लाबुङसम्मको ट्रयाक खोलिएको मदन भण्डारी राजमार्गका ठाउँ–ठाउँमा स्तरोन्नतिका कार्य गरिरहेको मियाँले जानकारी दिनुभयो । साँघुरो ट्रयाकलाई बढाउने, स्तरोन्नति गरेर सवारी सञ्चालन हुने तहको सम्म बनाउने र आवत–जावत सहज बनाउने लगायतका काम पनि कम्पनीले गरिरहेको छ। 
 

अन्तिम अपडेट: चैत १४, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया