चीनबाट फर्कन आवेदन दिएका १ सय ८५ जनालाई शनिबार राति नेपाल ल्याइने

 फागुन ३, २०७६ शनिबार ९:९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चीनबाट फर्कन आवेदन दिएका १ सय ८५ जनालाई शनिबार राति नेपाल ल्याइने भएको छ ।

त्यसका लागि चार जना सरुवा रोग विशेषज्ञ चिकित्सकसहितको विमान शनिबार दिउँसो चीन जाने र राति फर्कने तयारी रहेको सरकारले जनाएको छ । उनीहरु सबैको चीनमै स्वास्थ्य परीक्षण गरिने र कोरोना नभएको पुष्टि भएपछि मात्र नेपाल ल्याइनेछ । कोरोनाको लक्षण देखिए उपचारका लागि चीनकै अस्पताल पठाइने छ ।

स्वास्थ्य परीक्षणका लागि उनीहरुलाई ४ घण्टा अघि नै चीनको विमानस्थलमा पुर्‍याइने नेपाली दूतावासले जानकारी दिएकाे छ । यस्तै त्रिभुवन विमानस्थल आइपुगेपछि पनि फेरि स्वास्थ्य परीक्षण गरिने भएकाले कोरोना संक्रमित ल्याउन लागेको भन्ने हल्लाको पछि नलाग्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

परीक्षणमा कोरोनाको लक्षण देखिए टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लैजाने तयारी गरिएको छ । स्वस्थ व्यक्तिलाई भक्तपुरको खरीपाटीमा रहेको विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिने छ भने उनीहरुलाई लिन गएको विमानका चालक लगायतलाई  नगरकोटको खानेपानीको कार्यालयमा निगरानीमा राखिनेछ ।

उनीहरुलाई त्यहाँ राख्दा कोरोनाको लक्षण देखिए तत्काल अस्पताल लगेर आइसोलेसनमा राख्ने तयारी छ । उनीहरुलाई २ हप्तासम्म आफन्तसँग पनि भेट्न दिइने छैन भने चौबिसै घण्टा विशेषज्ञ चिकित्सकको निगरानीमा राखिनेछ । कोरोना नभएको पुष्टि भएपछि उनीहरुलाई अभिभावकको जिम्मा लगाइनेछ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया