बोली र व्यवहार सम्हाल्न नजान्दा मन्त्री पद गुमाउने नेताहरु

 साउन ८, २०७५ मंगलबार १८:३६:१६ | नवराज फुयाँल
unn.prixa.net

काठमाडौं – भाषण गर्ने बेला मिलाएर बोल्न नजान्दा मंगलबार कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजीनामा दिनुपरेको छ ।

बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राको विषयमा जथाभावी बोलेको भन्दै चर्को आलोचना भएपछि उहाँ राजीनामा दिन बाध्य हुनुभएको हो ।

तामाङको अभिव्यक्तिले सरकार र पार्टीलाई नै जोडेर बदनाम गर्ने प्रयास भएकाे भन्दै सत्तारुढ नेकपाका शीर्ष नेताहरुले सोमबार साँझ बालुवाटार बोलाएर मन्त्री तामाङलाई राजीनामा दिन निर्देशन दिएका थिए । पार्टीका शीर्ष नेताहरुको निर्देशनपछि उहाँ राजीनामा दिन बाध्य हुनुभयो ।

तामाङले कानुन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफू सधैं नेपाली महिलाको सम्मानमा आँच आउन नदिने कुरामा सजग रहेको बताउनुभयो । पत्रकार सम्मेलनमा भावुक हुँदै तामाङले आफ्नो अभिव्यक्तिलाई तोडमोड गरेर प्रस्तुत गरिएको पनि दावी गर्नुभयो ।  

साउन ४ गते काठमाडौंको एउटा विद्यालयमा भएको कार्यक्रमलाई सम्बोधनमा गर्ने क्रममा तामाङले बङ्गलादेशमा एमबीबीएस अध्ययन गर्ने नेपाली छात्राहरूले सर्टिफिकेट लिनका लागि शरीर सुम्पनुपरेको कुरा आफूले सुनेको उल्लेख गर्नुभएको थियो । 

नेपाली छात्राहरूको आत्मसम्मानमा चोट पुग्नेगरी कानुनमन्त्रीकै लज्जास्पद टिप्पणी आएको भन्दै उहाँको चौतर्फी विरोध सुरु भएको थियो । प्रतिपक्ष मात्रै नभई सत्तापक्षबाट पनि राजीनामा माग भएको थियो ।   

सपथ लिएको ४ महिना ८ दिनमा तामाङले मन्त्री पदबाट बिदा लिनुपर्यो । नैतिकताका आधारमा राजीनामा दिएपछि उहाँको प्रशंसा सुरु भएको छ । यसअघि पनि यस्तै बोली र व्यवहारका कारण केही नेताले मन्त्री पदबाट राजीनामा दिनुपरेको थियो ।

हिलो र सुर्तीले मन्त्री पद गुमाउने हरि पराजुली

२०७२ असार १५ का दिन राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा अघिल्ला वर्षजस्तै सरकारले मन्त्रीको उपस्थितिमा रोपाइँ कार्यक्रम आयोजना गरेको थियो । त्यतिबेला कृषिमन्त्री हुनुहुन्थ्यो, हरि पराजुली । उहाँ धान दिवस मनाउन काठमाडौंको मूलपानी पुग्नुभयो । त्यहाँ रोपाइँ कार्यक्रम उदघाटन सकेपछि मन्त्री पराजुलीले रोपाइँ गरिरहेका महिलालाई छोएर हिलो खेलेको फोटो÷भिडियो भाइरल नै बन्न पुग्यो । 

महिलामाथि अश्लील हर्कत गरेको उहाँमाथि आरोप लाग्यो । सामाजिक सञ्जालमा पराजुलीको राजीनामा मात्रै होइन, हदैसम्मको कारबाहीको माग गरियो । चौतर्फी दबावपछि उहाँलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवास बालकोटमा बोलाएर स्पष्टीकरण मात्रै लिनुभएन, राजीनामा दिन दबाब दिनुपर्यो । 

त्यसको केही दिनभित्रै पराजुलीले पदबाट राजीनामा दिनुभयो । त्यसअघि काठमाडौंको एक कार्यक्रममा पराजुलीले सूर्ती खाएर मञ्चमै थुकेको तस्बिर पनि पत्रपत्रिकामा प्रकाशित भएपछि चर्को आलोचना भएको थियो ।

राष्ट्रियता विरोधी अभिव्यक्तिका कारण शरतसिंह भण्डारीको राजीनामा

२०६८ सालमा तत्कालीन माओवादीका नेता डा.बाबुराम भट्टराई नेतृत्वमा रहेका सरकारका रक्षा मन्त्री शरतसिंह भण्डारीले २२ जिल्लाले निर्णय गरे तराई नेपालबाट छुट्टिन कसले रोक्छ भन्ने अभिव्यक्ति दिएपछि विवादमा तानिनुभयो । 

०६८ असोज १ गते दिएको त्यही अभिव्यक्तिले त्यसको एक महिनापछि कात्तिक २ गते भण्डारीले मन्त्री पदबाट हात धुनुपर्यो । तत्कालीन फोरम लोकतान्त्रिक पार्टीले उहाँलाई रक्षामन्त्रीबाट फिर्ता बोलायो । देश नै टुक्र्याउने अभिव्यक्ति दिएको भन्दै उहाँको चर्को आलोचना भएको थियो । उहाँका समर्थक कार्यकर्ता भने सरकारबाट फिर्ता बोलाउने निणर्यका विरुद्ध सडक आन्दोलनमै उत्रिएका थिए ।  

गिरिजासँग निहुँ खोजेपछि मातृकाको मन्त्री पद चट

वर्तमान सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव पनि एकपटक यसअघि बर्खास्तीमा पर्नुभएको छ । २०६४ सालमा वनमन्त्री हुँदा वातावरण विनाश हुनेगरी अवैध ढुंगाखानी सञ्चालन गर्नेमाथि कारबाही नगरेको भन्दै उहाँले ललितपुरका तत्कालीन स्थानीय विकास अधिकारीलाई मन्त्रालयकै शौचालयभित्र थुन्नुभएको थियो । यो घटनापछि उहाँ एकाएक चर्चामा आउनुभयो । 

लगत्तै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालसँगको विवादका कारण यादव मन्त्रीबाट बर्खास्तीमा पर्नुभयो । कोइरालासँग विवाद भएपछि तत्कालीन माओवादीले यादवलाई मन्त्रीबाट फिर्ता बोलाउनुपरेको थियो ।   
 

अन्तिम अपडेट: चैत ११, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

3 Comments

  • बिजय सापकोटा

    July 24, 2018, 10:15 p.m.

    बेलामा होस गुमाउदा फुर्सदमा पछुतो भएको छ मन्त्री तामाङलाइ तर पनि दबाबमा होस या स्वतस्फूर्त होस् बेलैमा राजीनामा दिएर उच्च नैतिकता मात्र प्रस्तुत गरेनन कि चौतर्फी प्रशङ्शाको पात्र पनि बनेका छन् ।।

  •  0 Reply
  • Rupraj dhami

    July 24, 2018, 9:59 p.m.

    मन्त्री ले गल्ती काम त गरेका होइनन् उन्ले नेपाली चेली को आस्मिता बिदेश मा लुट्इइछ भन्ने कुरा सुनेका बक्त गरेका हुन तेस्को लागि नेपाल मै मेडिकल कलेज खोल्नु पर्छ भनेका हुन बोल्न गल्ती सजाय ठुलो भोग्नु पर्यो बिचार नेता सोझा र भग्य बिग्रेका रहेछन

  •  0 Reply
  • मिङमा शेर्पा

    July 24, 2018, 9:59 p.m.

    कानुन मन्त्री ले माफी मागी मागी सके पछि पद बाट राजीनामा दिनु जरुरी थियो त ??? के राजीनामा दिए पछि बंगलादेशमा अध्यनरत चेलीबेटी हरु दुधले दुएर आउला ???

  •  0 Reply

तपाईको प्रतिक्रिया