६ महिने आर्थिक समीक्षा : महँगी झनै चुलियो,  काम गर्न विदेश जानेहरु बढे

 फागुन ४, २०७६ आइतबार १७:५५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चालु आर्थिक वर्षको ६ महिनामा महँगी बढेको छ । गएको आर्थिक वर्षको पहिलो ६ महिनामा भन्दा यो आर्थिक वर्षको ६ महिनामा २ प्रतिशतभन्दा धेरैले मूल्यवृद्धि भएको छ ।

गएकाे वर्ष पुसम्म ४ दशमलव ५८ प्रतिशत मूल्यवृद्धि रहेकोमा यो वर्षको पुस मसान्तसम्म मूल्यवृद्धि ६ दशमलव ८२ प्रतिशत रहेको छ । ६ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुमूल्यवृद्धि १० दशमलव २१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ४ दशमलव २५ प्रतिशत रहेको छ ।

निर्यात बढ्दो, आयात घट्दो

चालु आर्थिक वर्षको ६ महिनामा कुल वस्तु निर्यात २६ दशमलव १ प्रतिशतले बढेर ५७ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको ६ महिनामा  निर्यात ११.५ प्रतिशतले मात्रै बढेको  थियो । यस्तै ६ महिनामा वस्तु आयात ४ प्रतिशतले घटेर ६ खर्ब ९४ अर्ब ६९ करोड रुपैयाँमा कायम भएको छ ।

अघिल्लो वर्ष ६ महिनामा वस्तु आयात ३० दशमलव ५ प्रतिशतले बढेको थियो । कच्चा पाम तेल, हटरोल सिट, रासायनिक मल, मेसिनरी तथा पार्टपुर्जा, विद्युतीय उपकरण लगायतका वस्तुको आयात बढेको छ भने एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका साधन तथा पार्टपुर्जा, सिमेन्टलगायतका वस्तुको आयात घटेको छ ।

विदेश जाने बढे, रेमिट्यान्समा थोरै वृद्धि

चालु आर्थिक वर्षको ६ महिनामा वैदेशिक रोजगारीमा जानेहरु बढेका छन् । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या चालु आर्थिक वर्षको ६ महिनामा १७ दशमलव ७ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको ६ महिनामा विदेश जानेहरुको संख्या ३७ दशमलव ३ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या  भने शून्य दशमलव ५ प्रतिशतले मात्रै बढेको छ ।

६ महिनामा विप्रेषण आप्रवाह अर्थात रेमिट्यान्स शून्य दशमलव ९ प्रतिशतले बढेर ४ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको ६ महिनामा रेमिट्यान्स ३० दशमलव २ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १ दशमलव ३ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको ६ महिनामा रेमिट्यान्स १७ दशमलव ६ प्रतिशतले बढेको थियो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया