मानसिक सन्तुलन गुमाएकी नेपाली महिला दुबईमा अलपत्र

 फागुन ५, २०७६ सोमबार १८:४७:८ | उज्यालो सहकर्मी

यूएईको दुबईमा एक नेपाली महिला मानसिक सन्तुलन गुमाएको अवस्थामा भेटिनुभएको छ । कतैै तपाई‌ले उहाँलाई चिन्नु पाे भएको छ कि ? 

अरबी भाषा प्रष्ट बोल्न जान्ने ती महिलाको नाम यामकुमारी थापा  र उमेर ४६ वर्ष भएको स्थानीय सामाजिक अभियन्ता लैला अबु बकरले जानकारी दिनुभएको छ । नेपालमा उहाँको ठेगाना र दुबईमा काम गर्ने ठाउँबारे कुनै पत्तो लाग्न सकेको छैन ।

सामाजिक अभियन्ता बकरकाअनुसार यमकुमारीले २०१९ को अक्टोबरमा दुबई अस्पतालमा मस्तिष्कको शल्यक्रिया गर्नुभएको थियो । त्यसपछि यामकुमारी अस्पतालमै हुनुहुन्छ । यामकुमारीको आफन्त तथा साथीभाइ कसैसँग पनि सम्पर्क छैन । रोजगारदाता व्यक्ति पनि अस्पतालमा नआएको बकरले जानकारी दिनुभयो ।  

गएको चार महिनादेखि यामकुमारीलाई आफन्त, साथीभाइ तथा रोजगारदातासँग भेटाउन प्रयास गरिरहे पनि कोहीसँग सम्पर्क हुन सकेको छैन । बकरले गल्फ न्यूजसँग बताएअनुसार यामकुमारीलाई अक्टोबरको तेस्रो हप्ता अचेत अवस्थामा एम्बुलेन्समा राखेर दुबई अस्पताल पुर्याइएको थियो ।

ल्याउनेबेला अचेत अवस्थामा भए पनि होश आइसकेपछि यामकुमारीले बान्ता गरिरहने र टाउको दुख्ने गरेको बताउने गरेकी थिइन् । मेडिकल रिपोर्टअनुसार मस्तिष्कमा रक्तश्राव भएको देखिएको छ । अहिले पनि यामकुमारीलाई टाउको दुख्ने र ज्वरो आउने समस्या छ ।

सामाजिक अभियन्ता बकरकाअनुसार फेब्रुअरी १७ अर्थात आज सोमबार यामकुमारीको अस्पतालबाट डिस्चार्ज गर्नुपर्ने हो । तर कोही पनि सम्पर्कमा नआएपछि यामकुमारीलाई आफूसँगै राख्नुबाहेक अरु कुनै उपाय नभएको बकरले बताउनुभएको छ । 

यामकुमारीले आफ्नो एउटा छोरा छ भन्नेबाहेक अरु केही जानकारी दिन सक्नुभएको छैन । यामकुमारीले दुबईमै एक अरबी परिवारमा घरेलु कामदारको रुपमा काम गरेको हुनसक्ने अनुमान गरिएको छ ।

अहिले सामाजिक अभियन्ता लैला अबु बकरले यामकुमारीलाई नेपाल पठाउन दुबईमा रहेको नेपाली दूतावाससँग सम्पर्क गर्ने प्रयास गरिरहनुभएको छ ।


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया