दिलिप हत्या प्रकरण : रिहापछि पक्राउ परेका हत्याका आरोपितहरुको रिट खारेज

 फागुन ६, २०७६ मंगलबार १९:२०:२७ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - मिथिला नगरपालिकाका दिलीप महतोको हत्या आरोपमा रिहा भएर फेरि पक्राउ परेकाहरुको रिट खारेज भएको छ ।

दिलिपको हत्या आरोपमा जिल्ला अदालत धनुषाबाट गएको बुधबार २५-२५ हजार रुपैयाँ धरौटीमा रिहा भएका क्रसर उद्योग सञ्चालकका सहयोगी जितेन्द्र भनिने सत्यानारायण महतो, बृजमोहन भनिने शत्रुधन महतो र रोशन यादवलाई तत्कालै प्रहरीले अदालत परिसरबाटै फेरि पक्राउ गरेको थियो ।

गएको शुक्रबार नै तीनै जना आरोपितका आफन्तले उच्च अदालत जनकपुरमा जिल्ला प्रहरी कार्यालय धनुषालाई विपक्षी बनाइ बन्दीप्रत्यक्षीकरणकाे रिट दायर गरेका थिए । त्यस रिटमा सुनुवाइ गर्दै उच्च अदालत जनकपुरका न्यायाधीश बालकृष्ण उप्रेती र उज्ज्वल शुक्लको संयुक्त इजलासले खारेज गर्ने फैसला गरेको हो ।

गएकाे पुस २५ गते बिहान धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीप महतोलाई घरनजिकैको औरही खोलामा अवैध खोला उत्खनन रोक्न गएको बेला टिपरले कुल्चाएर हत्या गरिएको थियो ।

दिलिपको हत्या आरोपमा पक्राउ परेका ६ जनामध्ये धनुषा जिल्ला अदालतले गएको बुधबार चुरियामाई प्रशोधन क्रसर सञ्चालक विपिन महतो, कुल्चने टिप्पर चालक मुनिन्द्र महतो र लोडर चालक रञ्जित भनिने जितेन्द्र महतोलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।

त्यसै घटनामा अन्य आरोपित भनिएका सत्यनारायण, बृजमोहन र रोशनलाई घटनामा प्रत्यक्ष संलग्नता नदेखिएको भनी अदालत २५–२५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश गरेको थियो ।

जिल्ला अदालतको आदेशलगतै धरौटी बुझाएर साधारण तारेखमा छुटेका रोशन, सत्यानारायण र शत्रुधनले होहल्ला गरेपछि शान्तिसुरक्षा भंग गरेको आरोपमा प्रहरीले केहि समयमै अदालत परिसरबाटै फेरि पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक शान्ति सुरक्षाको कसुर अन्तर्गत रिहा भएलगतै फेरि तीनै जनालाई पक्राउ गरी शुक्रबार जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया