श्रीमान परदेशमा, श्रीमती गाउँमा जनप्रतिनिधिसँगै कुखुरा पालनमा

 फागुन ८, २०७६ बिहिबार १५:४७:१६ | श्यामशितल परियार

लमजुङ– नाम : रमा खड्का ।

घर : दोर्दी गाउँपालिका–२, अर्चलबोट ।

मुख्य जिम्मेवारी : जनप्रतिनिधि ।

लमजुङको दोर्दी गाउँपालिकाको कार्यपालिका सदस्य खड्काकोे परिचय यतिमै सीमित छैन । उहाँ एक सफल उद्यमी पनि हुनुहुन्छ । परदेशमा रहेका श्रीमानलाई घर व्यवहारमा सघाउनुहुन्छ, सामाजिक काममा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । 

उहाँका श्रीमान परदेशमा कमाउँछन् । उहाँलाई काम नगरे पनि पुग्थ्यो होला । कार्यपालिका सदस्य भएर गाउँठाउँको सेवा मात्र गरेको भए पनि हुन्थ्यो । तर उहाँलाई लाग्छ, गाउँको कामसँगै परदेशमा रहेका श्रीमानलाई पनि कमाएर सघाउनु पर्छ ।

भन्नुहुन्छ, ‘श्रीमानकै हौसलाले आज यी सबै काम एकैपटक अघि बढाउन सकेको छु ।’

रमाको काँधमा घर व्यवहारको मात्र जिम्मा छैन, जनप्रतिनिधि भएपछि गाउँठाउँको पनि जिम्मेवारी छ  । घर खर्च चलाउन र परदेशमा रहेका श्रीमानलाई सघाउन अहिले आफ्नै घर नजिकै रहेको जग्गामा कुखुराको खोर बनाई ‘लेयर्स’ कुखुरा पालन गर्नुभएको छ ।

२०७६ असार १५ गतेदेखि उहाँले व्यवसायिक रुपमा ‘लेयर्स’ कुखुरा पाल्न थाल्नुभएको हो । दुई वटा खोरमा १ हजार लेयर्स कुखुरा छन् । अहिले त कुखुराबाट आम्दानी पनि हुन थालेको छ । 

दिनको ५ सयभन्दा बढी अण्डा उत्पादन हुन्छ । उत्पादित अण्डा अर्चलबोट, सल्लाबोटका साथै भोटेओडारसम्म पुग्छ । रमा भन्नुहुन्छ, ‘बजारको समस्या छैन, अण्डा लिन स्थानीय र व्यापारी खोरमै आउँछन् ।’

पाँच महिना भयो कुखुराबाट उत्पादन सुरु भएको । अहिले त आम्दानी पनि मज्जैले हुन थालेको छ । अण्डा बेचेरै महिनाको ५० हजार रुपैयाँ बचत भएको उहाँ बताउनुहुन्छ । यो खर्च कटाएर भएको आम्दानी हो । ‘आफैंले कमाउँदा निकै सजिलो हुने रहेछ, आफ्नै कमाइले अहिले घरखर्च चलाउन र छोराछोरी पढाउन पनि पुगेको छ, खुशी लाग्छ,’ रमा भन्नुहुन्छ । 

रमाका श्रीमान् ईश्वर खड्का अहिले यूएईमा हुनुहुन्छ । प्रहरीबाट अवकाश पाएपछि उहाँ यूएई जानुभएको हो । 

‘आफ्नो खुट्टामा आफैँ उभिनुपर्छ’

रमालाई कुखुरा नपाल्दा पनि के लगाउँ के खाउँ भन्न पर्दैन । श्रीमानले धेरथोर कमाउँछन् । घर चलाउन पुगि नै हाल्थ्यो । तर उहाँलाई लाग्छ, ‘हरेक महिला आफ्नो खुट्टामा आफैं उभिनु पर्छ ।’ यही सोचले नै उहाँले कुखुरापालन सुरु गर्नुभएको हो । 

‘श्रीमानको मात्र भर परेर हुँदैन, आफूले पनि सकेको उद्यम गरी आय–आर्जन गर्न सकिन्छ, फुर्सदको समयको सदुपयोग गरी आय–आजर्न गर्नका लागि मैले कुखुरा पाल्न थालेँ,’ रमा भन्नुहुन्छ । 

रमालाई काममा श्रीमानले पनि हौसला दिन्छन् । काममा मात्र हैन उहाँले चाल्ने हरेक कदममा श्रीमानको साथ र सहयोग छ । कुखुरापालन व्यवसायलाई नै अघि बढाउँदै लैजाने र परदेशमा रहेका श्रीमानलाई फर्काउने उहाँको योजना छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया