एमसीसीका विषयमा अध्ययन गर्न बनेको नेकपाकाे कार्यदलले प्रतिवेदन आज बुझाउने

 फागुन ९, २०७६ शुक्रबार १६:११:१७ | रासस
unn.prixa.net

काठमाण्डाै - अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा अध्ययन गर्न बनेको कार्यदलले आज शुक्रबार प्रतिवेदन बुझाउने भएको छ । 

आज शुक्रबार बसेको बैठकले कार्यदलले सुझावसहित तयार पारेको प्रतिवेदन आज पार्टी अध्यक्षद्वयलाई बुझाउने भएको हो । केन्द्रीय समिति बैठकले गठन गरेको अध्ययन समितिले प्रतिवेदन तयार पारिसेको र सम्भवतः आज नै बुझाउने तयारी रहेको कार्यदलका सदस्य भीम रावलले बताउनुभयो ।

सरकार र एमसीसीबीच भएको सम्झौता र इण्डो प्यासिफिकका सम्बन्धमा आवशयक तथ्यहरुको विस्तृत अध्ययन भएको उहाँले बताउनुभयो ।

‘गहन विश्लेषण र विस्तृत अध्ययनपछि प्रतिवेदनको मस्यौदा तयार भएको छ । तयार प्रतिवेदनको मस्यौदालाई सम्भवतः आज बुझाउँछौँ । त्यसपछि यसका सम्बन्धमा निर्णय गर्नुपर्ने, कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरा पार्टी नेतृत्वले छलफल गरेपछि जानकारी होला । प्रतिवेदन नबुझाई के के कुरा समेटिएको छ भनेर भन्न सकिँदैन’, उहाँले भन्नुभयो, ‘केन्द्रीय कमिटी बैठकले नै अध्ययनपछि प्राप्त सुझावहरुका आधारमा सम्बन्धित तहबाट छलफल भएपछि निर्णय गर्ने भन्ने छ । त्यस अनुसार नै हुन्छ ।’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र एमसीसीका विषयमा विवाद बढ्दै गएपछि केन्द्रीय समिति बैठकले अध्ययन गर्न कार्यदल गठन गरेको थियो । केन्द्रीय समितिले दिएको १० दिनको समयभित्र प्रतिवेदन तयार हुन नसकेपछि अर्को पटक फेरि १० दिनको समय थपिएको थियो ।

एमसीसीको मूल सम्झौतासँगै अन्य दर्जनभन्दा बढी सम्झौताहरु अध्ययन गर्नुपर्ने भएकाले समय थपिएको रावलले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया