महराको डेटिङ र बाँस्कोटाको सेटिङ !!

 फागुन १०, २०७६ शनिबार ७:५६:३० | मिलन तिमिल्सिना
unn.prixa.net

मान्छेहरु कहिले जापान काण्ड भन्छन्, कहिले अस्ट्रेलिया काण्ड भन्छन् । मोबाइल र कम्प्युटरमा लुकीलुकी एक्लाएक्लै हेर्छन् । मन मिल्ने साथीलाई देखाउँछन्, मिलेर फेरि हेर्छन् । कतिले मुख रातो पार्छन्, कति दंग पर्छन् ।

तर जापान र अस्ट्रेलिया काण्डलाई ओझेलमा पार्नेगरी आफ्नै देशमा हाकाहाकी काण्ड भैरहेका छन् । न लुकेर हेर्नु पर्ने, न हेरेर मुख रातो पार्नुपर्ने । उल्टै लिन र दंग मात्रै पर्न पाइने । झटकलाग्दा काण्ड, घतलाग्दा काण्ड । अश्लीलता जोडिएका काण्ड, अश्लीलता नजोडिएका काण्ड ।

कुन काण्डको मात्रै बयान गर्नु ? तपाईं र मैले त के, हजार जिब्रा भएका शेषनागले पनि बयान गरेर साध्ये नलाग्ने काण्ड !

कहिले एनसेल काण्ड, कहिले फोरजी काण्ड, कहिले ललिता निवास काण्ड, कहिले वाइडबडी काण्ड, कहिले ३३ किलो सुन काण्ड, कहिले महरा काण्ड, कहिले बाँस्कोटा काण्ड । पछिल्ला दुई काण्डमा जोडिएको अडियो काण्ड । 

पहिलो काण्ड महराको थियो, जसले गर्दा दशैं खल्लो भयो । पछिल्लो काण्डमा बाँस्कोटा जोडिए, शिवरात्री खल्लो भयो । खल्लो त उनीहरुलाई पो भयो, तपाईंहामीलाई त मज्जै भयो । काण्ड देखेर, बुझेर, थाहा पाएर रमाइलो मान्न पाइयो ।

अझ पछिल्ला तीन चर्चित काण्डलाई प्रसँग मिलाएर भन्दा पौडेलको प्लटिङ काण्ड, महराको डेटिङ काण्ड र बाँस्कोटाको सेटिङ काण्ड । बाँस्कोटाको सेटिङ काण्डभन्दा महराको डेटिङ काण्ड रमाइलो, महराको डेटिङ काण्डभन्दा पौडेलको प्लटिङ काण्ड घमाइलो, पौडेलको प्लटिङ काण्डभन्दा बाँस्कोटा सेटिङ काण्ड गहकिलो ।

रोशनी काण्डले महरा लिलाम, ७० करोड काण्डले गोकुल लिलाम, बालुवाटार काण्डले गच्छदार लिलाम । 

धेरै काण्डमा प्रविधि दोषी देखियो । पहिलेका सभामुखलाई त मुखलेभन्दा बढी प्रविधिले धोका दियो नै । प्रविधिमन्त्रीलाई पनि मुख र प्रविधि दुईटैले डुबायो । त्यसो त जापान र अस्ट्रेलिया काण्ड पनि प्रविधिकै कारण बाहिरियो । सानादेखि ठूला काण्डसम्मलाई प्रविधिले नै पर्दाफास गर्न थालेपछि सबै झस्किएका छन् । बडाहरु त अब सांकेतिक भाषाको तालिम लिने तयारीमा छन् । 

त्यो तयारी हो–डेटिङ र सेटिङमा नबोल्ने, हातको इशाराले काम गर्ने । पहिले मोबाइल नहुँदा ठिटाठिटीहरुले यसैगरी इशाराको भरमा डेटिङ गर्थे । मोबाइल नभएपछि फोनमा यता आउ, उता जाउ, यसो गरौं, उसो गरौं, फर्गेट एस्टडे भनेर कल गर्न र म्यासेज गर्नै पर्दैनथियो । कल र मेसेज नगरेपछि रेकर्ड हुने कुरो पनि हुँदैनथियो । 

त्यतिबेला क्यामरा पनि अहिलेजस्तो सबैको हातहातमा थिएन । डेटिङ गएको फोटो चाहेर पनि कसैले खिच्न सक्दैनथियो । अनि जसले जसरी जति डेटिङ गरे पनि फरक पर्दैनथियो । त्यसैले पहिले पहिले कसैको डेटिङ काण्ड बाहिर आएन । प्रविधि नभएको फाइदा भयो ।

सेटिङमा पनि यस्तै थियो । मोबाइल, क्यामरा, सीसीटीभी नभएपछि बोलेर, भनेर जसरी पनि सेटिङ हुन्थ्यो । भुसदेखि घुससम्म, कमिसनदेखि आलिशनसम्म जहाँ जे गरे पनि कसैले पत्तो पाउँदैनथियो । 

अब त हात हातमा मोबाइल र क्यामरा, कोठाकोठामा सीसीटीभी । लुक्दालुक्दै, छेलिंदाछेलिंदै पनि प्रविधिले समात्न थाल्यो । त्यसैले बडाहरु अब सचेत हुँदैछन् । काण्डबाट बच्न सकेसम्म नदेखिने, देखिनै पर्ने ठाउँमा नबोल्ने, इशाराले काम गर्ने ।

इशारा र सांकेतिक भाषामा पोख्त हुन समय लाग्ला । तै पनि केही छैन । बडाहरुलाई थाहा छ, यस्ता काण्ड पानीको फोकाजस्तै हो । काण्ड सार्वजनिक हुन्छ, काण्डवालाले राजीनामा दिन्छ, केही दिन अनुसन्धान भएजस्तो हुन्छ, अनि त्यो आवाज अर्कैको हो भन्ने बनाइन्छ, त्यसपछि सकियो ।

उम्किने उपाय अरु पनि छन् । भ्रष्टाचारीलाई मन्त्री आफैंले छड्के जाँच गरेका हुन् भन्न पनि पाइन्छ । त्यो पनि नभए बार्गेनिङ पो हो, खाएको त छैन नि भन्दिए पनि सकिन्छ ।

खाइहालेको होइन क्यारे, खान खोजेको मात्रै हो । बोलेको कुरा फिर्ता लिएर सफाइ दिए नि हुन्छ । चोरेको कुरा फिर्ता गर्छु भन्दा त मुक्ति पाउने नजिर बसेको देशमा जाबो मुखले बार्गेनिङ गरेको त हो, म अब त्यस्तो गर्दिनँ भन्दा किन मुक्ति नपाउने ? काण्ड, काण्ड भनेर हेप्ने ? 
 

अन्तिम अपडेट: चैत २१, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया