पूर्वसञ्चारमन्त्रीकाे राजीनामाकाे सन्दर्भमा प्रचण्डले भन्नुभयाे - गल्ती गर्ने कसैलाई पार्टीले संरक्षण गर्दैन

 फागुन १०, २०७६ शनिबार १७:५८:० | रासस
unn.prixa.net

नवलपुर - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल नवलपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले कसैले गल्ती गरेको भए उसलाई पार्टीले संरक्षण नदिने स्पष्ट पार्नुभयाे ।

‘पूर्वसञ्चारमन्त्री बास्काेटाकाे विषयमा प्रधानमन्त्रीले तत्काल पहल लिएर राजीनामा गर्न लगाउनुभयाे । अनुसन्धान गर्नुपर्ने विषय भए सम्बन्धित निकायले अनुसन्धान गर्ने भन्ने पहल लिएकाले त्यो समस्या समाधानको विषयतिर गएको छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अहिले सबै विषय अनुसन्धानको प्रक्रियामा छन् । गल्ती गर्नेलाई छुट दिने पक्षमा हामी छैनौँ । म अहिले यति मात्रै भन्न चाहन्छु ।’   

अध्यक्ष प्रचण्डले अहिले चर्चामा रहेको एमसीसीबारे नेकपाले बनाएको अध्ययन कार्यदलले शुक्रबार मात्रै दुवै अध्यक्षलाई प्रतिवेदन बुझाएको भन्दै आफूहरु प्रतिवेदन अध्ययनका क्रममा रहेको बताउनुभयो ।

कार्यदलबाट आएको सुझावलाई परिमार्जन गरेर अगाडि बढिने भएकाले आफूहरुले अध्ययन गरिरहेको उहाँले भनाइ छ । ‘एमसीसी परिवर्तन नै हुन नसक्ने दस्तावेज नभएकाले परिमार्जित गरेर अगाडि बढाउने तयारी भइरहेको छ,’  उहाँले भन्नुभयो,’ ‘यो विषयमा सचिवालयले छलफल गरेर टुङ्गोमा पुर्‍याउने छ ।’   

अध्यक्ष दाहालले सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा समेत नेकपाभित्र व्यापक छलफल भइरहेको बताउँदै पछिल्लो समय सरकारले काममा गति लिएको र आउने दशकलाई विकासको दशक, युवाहरुका लागि आम रुपमा रोजगारीको दशक र समृद्धिको नयाँ आधारशिला बनाउन चाहेको उल्लेख गर्नुभयो ।

आउने दशक आम नेपाली युवाहरुलाई नयाँ युगतिर लैजाने दशक हुनेमा भरोसा गर्नसमेत उहाँले आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया