एमसीसीबारे छलफलबाट टुङगाे लगाउने नेकपा सचिवालय बैठककाे निर्णय

 फागुन १०, २०७६ शनिबार २०:२४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विषयमा आवश्यक छलफल गरेर अगाडि बढ्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अर्को सचिवालय बैठकबाट आवश्यक निर्णय गरेर अगाडि बढ्ने निर्णय गरेको हो । एमसीसी पारित गर्ने/नगर्ने विषयमा अर्को सचिवालय बैठकले टुंगो लगाउने नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । 

शनिबारको सचिवालय बैठकमा प्रतिवेदनलाई भाषिक रुपमा अन्तिम सम्पादन गरेर कार्यान्वयनका सम्बन्धमा अगाडि बढ्ने विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो । संशोधन गर्नुपर्ने विषयमा आवश्यक परे अमेरिकी सरकारसँग कुराकानी गर्न कार्यदलले सुझाव दिएको छ । 

अध्ययन कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनको विवरण पेश गर्नुभएको थियो । बैठकमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा लेनदेनको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका गोकुल बाँस्कोटाका विषयमा अख्तियार लगायत थप निकायले छानबिन गरिरहेको विषयमा पनि जानकारी गराइएको उहाँले बताउनुभयो ।

कार्यदलले झण्डै २० दिन लगाएर तयार पारेको प्रतिवेदन हिजो अध्यक्षद्वयलाई बुझाएको थियो । नेकपा केन्द्रीय समिति बैठकले एमसीसीका विषयमा अध्ययन गर्न खनालको संयोजकत्वमा स्थायी समिति सदस्य भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको अध्ययन कार्यदल गठन गरेको थियो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया