इञ्चार्ज चीनमै रोकिए, नारायणगढ - बुटवल चार लेन सडकमा ‘कोरोनाको कहर’ !

 फागुन १२, २०७६ सोमबार ९:२२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चीनमा फैलिएको कोरोना भाइरसको संक्रमणले नेपालमा पनि धेरै आयोजना प्रभावित भएका छन् । 

जलविद्युत, विमानस्थल, खानेपानी सडक लगायतका आयोजना कोरोना भाइरसका कारण प्रभावित छन् । चिनियाँ कामदार र उपकरण नभएपछि आयोजनाको काम पछाडि धकेलिएका छन् । 

कोरोना भाइरसको कारण चिनियाँ कम्पनीले निर्माणको जिम्मा पाएको नारायणगढ–बुटवल सडक बनाउने काम पनि प्रभावित भएको छ । १ सय १३ किलोमिटर लामो सडकलाई गैँडाकोट–दाउन्ने ६४ किलोमिटर पूर्वी खण्ड र दाउन्ने–वुटबल ४८ किलोमिटरलाई पश्चिम खण्डमा बर्गीकरण गरिएको छ । 

२०७५ सालको पुसमा ठेक्का सम्झौता भएको सडकमा अहिले धेरै काम भैसक्नुपर्ने थियो । १ वर्षसम्म रुख कटानको विवादले काम सुरु हुन सकेन । २०७६ सालको पुसदेखि सरासर काम हुन थालेको थियो, तर चीनमा कोरोना भाइरस फैलिएपछि यो आयोजना प्रभावित भएको छ । 

ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन एन्ड इञ्जिनियरिङ कर्पोरेसनका २ इञ्चार्जसहित १५ जना मुख्य व्यक्ति चीनमै रोकिएका छन् । जसका कारण पूर्ण क्षमतामा काम हुन सकेको छैन । 

‘दुबै खण्डका इञ्चार्ज चीनमै रोकिएका छन्, आयोजनाको मुख्य निर्णय गर्ने र पैसा परिचालन गर्ने व्यक्ति चीनमै रोकिँदा काममा असर परेको छ, काम पूर्ण क्षमतामा हुन सकेको छैन’ आयोजनाका पूर्वी खण्डका प्रमुख सुजन अधिकारीले भन्नुभयो। 

इञ्चार्जले अहिले तत्कालै आफू आउन नसक्ने र चीनमा बैंक तथा अन्य कार्यालय बन्द रहेकाले पैसा पठाउन पनि नसक्ने जानकारी दिएको अधिकारीले बताउनुभयो । 

आयोजनामा अहिले ३० किलोमिटर क्षेत्रमा रुख काट्ने काम सकिएको छ, २५ वटा कल्भर्ट र केही पुलको काम सुरु भएको छ । केही ठाउँमा माटो भर्ने काम चल्दैछ । 

तर ठेक्का सम्झौता भएको २०७५ सालको पुसदेखि साढे ३ वर्षभित्र अर्थात २०७९ सालको जेठ महिनामा सडक आयोजना सक्नको लागि अहिले निकै तीव्र गतीमा काम हुनुपर्नेमा त्यसो हुन सकेको छैन ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया